काठमाडौं l सरकारले थप ३ वटा देशसँग हवाई सेवा सम्झौता (एएसए) गर्ने भएको छ ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव बुद्धिसागर लामिछाने नेपालबाट हुने सिधा उडानको पहुँच बढाउन थप ३ देशसँग हवाई सेवा सम्झौता गर्न लागिएको बताए । उनका अनुसार हवाई सम्झौता हुन लागेका ३ वटै देशसँग सम्झौताको खाका आदानप्रदान भइसकेको छ । अब दुवै देशको अनुकूलतामा सम्झौता हुने पनि लामिछानेले बताए ।
हालसम्मको तयारीअनुसार रुवाण्डासँग नेपालमै सम्झौता हुने भएको छ भने इन्डोनेसिया र स्वीटजरल्याण्डसँग सम्बन्धित देशमै जानुपर्ने भएको छ । ३ वटै देशसँग कम्तीमा हप्ताको १४ वटा उडान हुने गरी सम्झौता हुने भएको छ । यस्तो सम्झौतामा नेपालका दुवै देशले सबै विमानस्थलमा उडान अवतरण गर्ने गरी सम्झौता हुने भएको छ ।
नयाँ मुलुकसँग हुने हवाई सेवा सम्झौतामा भने नयाँ सञ्चालनमा आएको पोखरा र भैरहवा विमानस्थललाई प्राथमिकतामा राखेर सम्झौता हुनेछ । नेपालले अर्बौं लगानी गरेर बनाएको काठमाडौं बाहिरका २ विमानस्थलमा उडान अवतरण गर्नेलाई मात्रै काठमाडौं दिने गरी सम्झौता गर्न लागिएको लामिछानेले बताए ।
हाल काठमाडौं विमानस्थल मात्रै अन्तर्राष्ट्रिय वायु सेवाको प्राथमिकतामा रहेकाले अब हुने सबै सम्झौतामा बाहिर उडान गर्नेलाई मात्रै काठमाडौं आउन पाउने व्यवस्था गराउन खोजिएको पर्यटन मन्त्रालयको भनाइ छ । मन्त्रालयका अनुसार नयाँ सम्झौतामा हवाई क्षेत्रले पाउने सबै सुविधा सहित हुनेछ । यस्तो सम्झौतामा नेपालले विदेशी वायु सेवालाई जुनसुकै प्रकारको जहाजबाट उडान गर्न पाउने र फिफ्थ फ्रिडमको सुविधा दिने भएको छ भने नेपालले पनि सोही अनुसारको सुविधा खोज्ने छ । द्विपक्षीय हवाई सेवा सम्झौता अनुसार एउटा देशले जति सेवा सुविधा पाउँछ, अर्कोले पनि उति नै पाउने छन् ।
नयाँ हवाई सेवा सम्झौताले नेपाली वायु सेवाले चाहेकै बेला सम्बन्धित देशमा उडान गर्न पाउनेछन् । सम्झौता भएका विदेशी वायु सेवाले पनि नेपालमा सिधा उडान आफ्नो अनुकूल समयमा गर्न पाउने छन् ।
नेपालले गर्ने हवाई सेवा सम्झौतामा तत्कालै उडान भइहाल्छ भन्ने हुँदैन । सम्झौता भएको अवस्थामा सम्बन्धित देशका वायु सेवाले चाहेकै समयम उडान सेवा पनि नियमित गर्न पाउनेछन् ।
नयाँ सम्झौतासँगै हाल उडान गरिरहेका २ मुलुकसँगको सम्झौता पनि पुनरावलोकन हुने भएको छ । पर्यटन मन्त्रालयका अनुसार नेपालमा उडान गराइरहेका कुवेत र कोरियासँगको सम्झौता पुनरावलोकन हुँदैछ । यी २ देशसँग हाल हप्ताको १४ वटासम्म उडान गर्ने गरी सम्झौता पुनरावलोकन गर्न लागिएको छ । हाल कुवेतसँग हप्ताको ७ वटा र कोरियासँग ४ वटा मात्रै उडान सम्झौता छ ।
सम्झौता अनुसारको तालिका अपुग भएको महसूस गरेर थप उडान तालिकाका लागि सम्झौता पुनरावलोकन गर्न खोजिएको पनि पर्यटन मन्त्रालयका सहसचिव लामिछानेले बताए ।
नयाँ मुलुकसँग हुने हवाई सेवा सम्झौतापछि नेपालबाट सिधा उडान पहुँच पुग्ने देशको संख्या ४३ वटा हुने भएको छ । हाल ४० देश र युरोपेली युनियन (ईयू) सँग १ उडान सम्झौता भएको छ । उडान सम्झौता भएका सबै देशमा नेपालका वायु सेवा जाँदैन तर नेपाली वायु सेवा नगए पनि सम्बन्धित देशबाट उडान हुन सक्ने भएकाले पनि एएसएस आवश्यक भएको सहसचिव लामिछानेले बताए ।
अहिले पनि नेपालबाट १६ देशका ३० वटा वायु सेवाले उडान गरिरहेका छन् । यी वायु सेवामध्ये नेपालबाट अन्तर्राष्ट्रिय उडान गर्नेको संख्या ३ वटा छ । नेपालबाट अन्तर्राष्ट्रियको उडान अनुमति लिनेमा बुद्ध एयर, नेपाल एयरलाइन्स र हिमालयन एयरलाइन्स मात्रै छ । बाँकी २७ वटा अन्तर्राष्ट्रिय उडानका विदेशी वायु सेवाले नेपालमा उडान गर्छन् ।
नेपालमा थाइल्याण्डबाट थाई एयरवेजले पुनः उडान गर्ने भएको छ । २ वर्ष अगाडि नियमित उडान गर्ने यो वायु सेवाले नेपाल उडान स्थगित गरेको थियो । अब पुनः यो वायु सेवाले नियमित उडान गर्ने भएको छ ।
नेपाल नागरिक उड्डयन प्राधिकरणक सूचना अधिकारी ज्ञानेन्द्र भुलका अनुसार थाइ एयरवेजले आगामी १ नोभेम्बरबाट नियमित उडान गर्ने भएको छ । यो वायु सेवाले हप्तामा ७ वटा उडान गर्ने गरी अनुमति लिएको छ । यसले बैंककबाट काठमाडौंको लागि दुईतर्फी उडान गर्ने भएको छ । हाल थाइल्याण्डबाट थाइ लाइनले नियमित उडान गर्दै आएको छ ।