काठमाडौं,
नेपाली समाजमा गहिरोसँग जरा गाडेर बसेको रूढीवादी परम्परालाई उजागर गर्दै तीज गीत “छोरी भएर जन्मनु” सार्वजनिक भएको छ। यस गीतले समाजमा अझै पनि जीवित रहेको एउटा कालो परम्पराको कथा प्रस्तुत गर्छ, जहाँ छोरा नजन्मेसम्म बच्चा जन्माई रहने र छोराको चाहनामा सात सात छोरी जन्मिने कुरा देखाइएको छ। कुल र वंशलाई धान्नका लागि छोरा चाहिने भन्ने मान्यता समाजमा अझै पनि बलियो रूपमा रहेको कुरा यस गीतले चित्रण गरेको छ।
गीतको कथा कान्छी छोरीको विवाहसँग सम्बन्धित छ, जसको जीवन एक असल चरित्र नभएको केटासँग जोडिन्छ। थप रूपमा, उनले कठोर र दुष्ट स्वभाव भएकी सासूको सामना गर्नुपर्छ। यस कथाले समाजमा छोरी र बुहारीबीच गरिने भिन्नताबारे गहिरो सन्देश दिन्छ।
यो गीतका शब्द रचना तिलु शर्मा पौडेल र प्रवेश पौडेलले मिलेर गरेका हुन्। तिलु शर्मा पौडेल म्याग्दीमा जन्मिएर कतारलाई कर्मथलो बनाइरहेका छन् भने प्रवेश पौडेल पर्वतमा जन्मिएर क्यानडामा बसोबास गर्दै आएका छन्। गीतमा लोकप्रिय गायिका शान्ति श्री परियारले आफ्नो आवाज दिएकी छन्, र यसको संगीत संयोजन याम थापा मगरले गरेका छन्।
गीतको भिडियोमा स्मारिका ढकालले मुख्य भूमिका निभाएकी छन् भने अंशु थापा महर्जनले सासूको भूमिकामा अभिनय गरेकी छन्। जेठी छोरीको भूमिकामा सन्ध्या अर्याल र कान्छी छोरीको भूमिकामा वर्षा लम्साल देखिएका छन्। भिडियोलाई प्रवीण थापाले निर्देशन गरेका हुन्, जसलाई अजय रेग्मीले खिचेका छन् र अमृत चोपागाईंले सम्पादन गरेका छन्।
“छोरी भएर जन्मनु कुन जुनीको पाप हो” भन्ने प्रश्नबाट सुरु हुने यस गीतले छोरी र बुहारीबीच भिन्नता नदेखाउनु पर्ने र नारी सबै समान हुन् भन्ने सन्देश बोकेको छ। भिडियोको अन्त्यमा, माइतीको आँगनमा आफ्नो पीडा सुनाउँदै नाच्ने बुहारी एक्कासि बेहोस हुन्छिन्, जसले भिडियोलाई थप सस्पेन्ससहित टु बी कन्टिन्यूको अवस्थासम्म पुर्याउँछ।