दोहा,
कतारको राजधानी दोहामा नबिल बैंकले ‘घर त नेपाल’ शीर्षकमा विशेष मिट एण्ड ग्रिट कार्यक्रम सम्पन्न गरेको छ। जनवरी ३१, २०२५ मा होटल र्याडिसन ब्लुमा आयोजित यस कार्यक्रममा कतारमा रहेका नेपाली समुदायको भव्य जमघट देखियो। नेपाली समुदायलाई एकताबद्ध गर्ने उद्देश्यले आयोजना गरिएको यस कार्यक्रमले बैंकका सेवाहरू, लगानीका अवसरहरू तथा वित्तीय योजनाहरूका बारेमा विस्तृत जानकारी प्रदान गर्यो।
कार्यक्रमको उद्घाटन नबिल बैंकका उपमहाप्रबन्धक आदर्श बजगाईंले स्वागत मन्तव्य राख्दै गरे। उनले बैंकको ४०औं वार्षिकोत्सवको अवसरमा तयार पारिएको विशेष भिडियो प्रस्तुत गर्दै बैंकले विगत चार दशकमा पुर्याएको योगदानबारे प्रकाश पारे।
नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) ज्ञानेन्द्र प्रसाद ढुंगानाले सम्बोधन गर्दै बैंकको डिजिटल सेवा, निक्षेप, कर्जा तथा रेमिटेन्स सुविधाका बारेमा चर्चा गरे। उनले बैंकले आफ्ना ग्राहकहरूलाई उच्चतम सेवा प्रदान गर्न कुनै सम्झौता नगर्ने प्रतिबद्धता व्यक्त गर्दै प्रवासी नेपालीहरूलाई आफ्नो आम्दानीलाई सिस्टम्याटिक इन्भेस्टमेन्ट प्लान (एसआईपी) मार्फत बचत तथा लगानी गर्न आग्रह गरे।

कार्यक्रममा गैरआवासीय नेपाली संघ (एनआरएनए) कतारका अध्यक्ष रमेश भट्टले बैंकलाई रेमिटेन्स सेवा शुल्कमा सहुलियत दिन आग्रह गरे। उनले अन्य मुलुकहरूमा जस्तै नियमित रेमिटेन्स गर्ने सेवाग्राहीहरूलाई सेवा शुल्क फिर्ता गर्ने योजना ल्याउन सुझाव दिए। साथै, उनले आईपीओमा जस्तै सहुलियत दरमा म्युचुअल फन्ड तथा कर्जाको सुविधा प्रवासी नेपालीलाई उपलब्ध गराउनुपर्ने माग राखे।
नबिल इन्भेस्टमेन्ट, नबिल स्टक डिलर, एनबैंक तथा रेमिटेन्स सेवाका विभिन्न प्रमुखहरूले आफ्ना उत्पादन तथा सेवाबारे विस्तृत जानकारी प्रस्तुत गरे। एनबैंकका प्रबन्धकले निकट भविष्यमा मोबाइल एप्लिकेसन मार्फत एसआईपी रकम जम्मा गर्न सकिने सुविधाको घोषणा गरे। रेमिटेन्स प्रमुख मनिषा श्रेष्ठले बैंकको रेमिटेन्स प्रक्रिया तथा सेवाका फाइदाबारे जानकारी गराइन्।
कतारका लागि नेपाली राजदूत महामहिम रमेशचन्द्र पौडेलले कार्यक्रमलाई सम्बोधन गर्दै नबिल बैंकको प्रगतिप्रति प्रसन्नता व्यक्त गरे। उनले बैंकले नेपाली समुदायका लागि पुर्याएको योगदानको प्रशंसा गर्दै यस्ता कार्यक्रमहरू निरन्तर आयोजना गर्नुपर्नेमा जोड दिए।

कार्यक्रमको अन्त्यमा चर्चित हास्य कलाकार सुमन कार्कीले आफ्नो प्रस्तुतीमार्फत उपस्थित दर्शकहरूलाई भरपुर मनोरञ्जन प्रदान गरे। उनले समसामयिक विषयवस्तुमा कटाक्ष गर्दै प्रवासी नेपाली समुदायको वास्तविकतालाई प्रहसनात्मक शैलीमा प्रस्तुत गरे।

नबिल बैंकको ‘घर त नेपाल’ कार्यक्रमले दोहामा नेपाली समुदायको भव्य जमघट मात्र नभई वित्तीय सेवाबारे जानकारी दिन तथा प्रवासी नेपालीहरूको योगदानको सम्मान गर्न महत्वपूर्ण भूमिका खेलेको देखिन्छ। बैंकले आगामी दिनहरूमा पनि यस्ता कार्यक्रमहरू आयोजना गर्दै जाने प्रतिबद्धता व्यक्त गरेको छ।
