दोहा, कतार | जीवन विज्ञान कतारले आगामी शुक्रवार ११औं अन्तर्राष्ट्रिय योग दिवस विशेष अवसरमा भव्य कार्यक्रमको आयोजना गर्ने भएको छ। ‘आफ्नो भाग्य आफैं बनाउने विज्ञान’ भन्ने मूल नाराका साथ आयोजना हुने उक्त कार्यक्रममा नेपालबाट आमन्त्रित विशिष्ट आध्यात्मिक गुरुद्वय एल.पी. भानु शर्मा र रमेश नेपालको प्रमुख उपस्थित रहनेछ।
संस्थाका संयोजक रामजी खत्रीका अनुसार, कार्यक्रममा सहभागी नेपालीहरूलाई योग, ध्यान र आत्म-विकास सम्बन्धी प्रयोगात्मक प्रशिक्षण निशुल्क प्रदान गरिनेछ। कार्यक्रम अल थुमामा स्थित ‘द आर्टियुम हल’ मा शुक्रवार दिउँसो १ बजेबाट सुरु हुनेछ।
जीवन विज्ञान संस्था सनातन आध्यात्मिक ज्ञान र आधुनिक मनोविज्ञानको समन्वय गर्दै मानिसभित्र लुकेका असीम सम्भावनाहरू उजागर गर्न क्रियाशील छ। योग, ध्यान, साधना र मनोविज्ञानका गहिरा सूत्रहरूको व्यावहारिक अभ्यासमार्फत मानिसलाई आत्म-साक्षात्कार, आन्तरिक शान्ति र प्रेमतर्फ प्रेरित गर्नु संस्थाको प्रमुख उद्देश्य हो।
गुरु एल पी भानु शर्मा, शिक्षाविद् र जीवन विज्ञानका संस्थापक, तथा रमेश नेपाल, सफल व्यवसायीबाट आध्यात्मिक मार्गमा लागेका सह-संस्थापक, दुबैले नेपाल तथा विदेशमा सयौं योग तथा आत्म-विकास सम्बन्धी कार्यक्रमहरू संचालन गरिसकेका छन्। उनीहरूद्वारा निर्देशित प्रशिक्षणले व्यक्ति भित्रको ऊर्जा र चेतनाको स्तर बढाउने विश्वास गरिन्छ।
कार्यक्रमको तयारीलाई व्यवस्थित रूपमा अघि बढाउन संयोजक खत्रीका अनुसार विभिन्न समिति र उपसमितिहरू गठन गरिएका छन्। उनले कतारस्थित सम्पूर्ण नेपाली समुदायलाई कार्यक्रममा सहभागी भई योग र आध्यात्मिक शिक्षाबाट लाभ उठाउन हार्दिक निमन्त्रणासमेत गरेका छन्।