/

विदेशमा रहेका नेपालीलाई मतदानको व्यवस्था गर्न गृहमन्त्रीको जोड

58 पटक हेरिएको

२ असोज, काठमाडौं । गृह तथा कानुनमन्त्री ओमप्रकाश अर्यालले विदेशमा रहेका नेपालीहरूलाई मतदानको अधिकार सुनिश्चित गर्न सरकार प्रतिबद्ध रहेको बताएका छन् । सर्वोच्च अदालतको आदेशलाई कार्यान्वयन गर्दै यसपटक विदेशमा रहेका नेपालीलाई मतदानको अवसर प्रदान गर्न आफूले सक्दो प्रयास गर्ने उनले जनाएका छन् ।

बिहीबार निर्वाचन आयोगमा भएको छलफलमा बोल्दै मन्त्री अर्यालले समानुपातिक निर्वाचन प्रणालीमार्फत भए पनि विदेशमा रहेका नेपालीलाई मतदानको अधिकार दिनुपर्नेमा जोड दिए । उनले भने, “सर्वोच्च अदालतले विदेशमा रहेका नेपालीलाई मतदानको अधिकार दिन आदेश दिएको लामो समय भइसकेको छ । यसलाई अब सम्भव बनाउनैपर्छ । जहाँ प्राविधिक रूपमा सम्भव छ, त्यहाँ यो व्यवस्था लागू गर्न मेरो प्रयास रहनेछ ।”

मन्त्री अर्यालले प्राविधिक समस्या भएका देशहरूमा पनि नेपाली राजदूतावासमार्फत प्रविधिको प्रयोग गरेर मतदानको व्यवस्था गर्न सकिने बताए । “राजदूतावास भएका ठाउँमा प्रविधिको प्रयोग गरेर मतदानको व्यवस्था गर्न सकिन्छ,” उनले भने, “युवा पुस्तालाई राजनीतिको मूलधारमा ल्याउन र उनीहरूलाई निर्वाचन प्रक्रियामा सहभागी गराउन सरकार र निर्वाचन आयोगले सहकार्य गर्नुपर्छ ।”

विदेशमा रहेका नेपालीलाई मतदानको अवसरबाट वञ्चित गर्न नहुने भन्दै मन्त्री अर्यालले नेपाल सरकार र निर्वाचन आयोगले यो विषयमा सहजीकरण गर्ने विश्वास व्यक्त गरे । उनले थपे, “हामीले गर्न सक्ने सबै प्रयास गर्नेछौं । निर्वाचन आयोगले पनि यसमा सहयोग गर्नेछ भन्ने मलाई विश्वास छ ।”

जवाफ छाड्नुस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन।