कतार, २८ सेप्टेम्बर २०२५ – गण्डकी प्रदेश समन्वय परिषद कतारले साङ्गीतिक प्रस्तुतिका लागि कतार आएको पोखरेली “ब्याक टु नाइन्टी” ब्यान्डलाई सम्मान गरेको छ। लोकपप र आधुनिक गीतका लागि चर्चित ब्यान्डहरू मध्यान्ह, लेकाली, देउराली, ब्रोसिस र भेगाबोन्डलाई शनिबार आयोजित एक विशेष कार्यक्रममा ढाका टोपी र सम्मानपत्र प्रदान गरी सम्मान गरिएको हो।
यी पाँच लोकप्रिय ब्यान्डले “विरासतलाई फर्केर हेर्दा” नामक साङ्गीतिक सहकार्यमार्फत स्वदेश र विदेशमा आफ्नो प्रस्तुति दिँदै आएका छन्। कार्यक्रममा प्रमुख अतिथि तथा परिषदका संस्थापक अध्यक्ष आश बहादुर गुरुङ, संरक्षक राकेश श्रेष्ठ, सल्लाहकार श्याम न्यौपाने, कास्की आदर्श समाजका अध्यक्ष अग्निधर देवकोटा, पर्वत समाज कतारका अध्यक्ष सन्तोष क्षत्री, स्याङ्जा सहयोग समाजका अध्यक्ष घनश्याम जैसी, गोरखा सेवा समाजका अध्यक्ष विकास श्रेष्ठलगायतले नेपाली साङ्गीतिक क्षेत्रमा ब्यान्डको योगदानको प्रशंसा गरे। उनीहरूले शुक्रबारको कार्यक्रममा आयोजकको कमजोरीका कारण ब्यान्डले प्रस्तुति दिन नसकेकोमा दुख व्यक्त गरे।
कार्यक्रममा गायक तथा पोखरा साङ्गीतिक कलाकार सङ्घ नेपालका अध्यक्ष हर्कराज गुरुङ, गायक कर्णदास र अमृत गुरुङले सम्मानका लागि धन्यवाद दिँदै यसले साङ्गीतिक क्षेत्रमा थप प्रेरणा मिल्ने बताए। उनीहरूले प्राविधिक कमजोरीका बावजुद भविष्यमा गण्डकी प्रदेश र मातहतका जिल्ला संस्थाहरूसँग मिलेर परोपकारी साङ्गीतिक कार्यक्रम गर्न तयार रहेको प्रतिबद्धता व्यक्त गरे। साथै, प्रवासमा रहेर पनि नेपाली गीत–सङ्गीतको प्रवर्द्धन र सामाजिक कार्यमा योगदान पुर्याएकोमा परिषदलाई मादल प्रदान गर्दै खुशी व्यक्त गरे।

कार्यक्रम परिषदका अध्यक्ष नन्दलाल विश्वकर्मा (अजय) को सभापतित्वमा सम्पन्न भएको थियो। स्वागत उपाध्यक्ष कल्याण थापा र सञ्चालन महासचिव मनप्रसाद रानामगरले गरेका थिए।
कास्की आदर्श समाजद्वारा पनि सम्मान
यसैबीच, कास्की आदर्श समाज कतारले पनि “ब्याक टु नाइन्टी” ब्यान्ड र पोखरा साङ्गीतिक कलाकार सङ्घ नेपालका अध्यक्ष हर्कराज गुरुङलाई सम्मान गरेको छ। गण्डकी प्रदेशको राजधानी पोखरामा लामो समयदेखि साङ्गीतिक क्षेत्रमा उल्लेखनीय योगदान पुर्याएको भन्दै समाजका अध्यक्ष अग्निधर देवकोटा, संरक्षक आश बहादुर गुरुङ, प्रमुख सल्लाहकार सुरज रानाभाट, प्रथम उपाध्यक्ष अमृत विश्वकर्मा लगायतले दोसल्ला र मायाको चिनो प्रदान गरी सम्मान गरे।

यो सम्मानले नेपाली साङ्गीतिक क्षेत्रको प्रवर्द्धन र प्रवासमा नेपाली संस्कृतिको संरक्षणमा महत्त्वपूर्ण योगदान पुगेको सन्देश दिएको छ।

