नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक एक वर्षयताकै उच्च विन्दु नजिक पुगेको छ। मंगलबार नेप्से परिसूचक ८०.९७ अंकले बढेर २,९७३.७० विन्दुमा बन्द भएको छ, जुन ११ महिनायताकै उच्च हो। यसअघि ०८१ भदौ ६ गते नेप्से २,९७४.४६ विन्दुमा पुगेको थियो भने भदौ ५ गते २,९६८.४४ विन्दुमा थियो। हालसम्मको उच्च विन्दु ३,०००.८१ रहेको छ।
आज कारोबार रकममा पनि उल्लेख्य वृद्धि भएको छ। मंगलबार २० अर्ब ८ करोड ५३ लाख रुपैयाँको सेयर खरिदबिक्री भएको छ, जुन सोमबारको १६ अर्ब ३२ करोड ७१ लाख रुपैयाँको तुलनामा चार अर्बले बढी हो। यस दिन एक लाख ७७ हजार १०१ कारोबारमा चार करोड ३५ लाख ८१ हजार २२८ कित्ता सेयर किनबेच भएको छ। सोमबार भने एक लाख ३८ हजार ८२८ कारोबारमा तीन करोड ५६ लाख ४९ हजार २११ कित्ता सेयर खरिदबिक्री भएको थियो।
बजारमा २३६ कम्पनीको सेयरमूल्य बढेको छ भने १४ कम्पनीको सेयरमूल्य घटेको छ। आठ कम्पनीको सेयरमूल्य ८ प्रतिशतभन्दा बढीले उकालो लागेको छ। विशेषगरी, ट्रेड टावरको सेयरमूल्य १० प्रतिशतले बढेको छ भने शिवम् सिमेन्ट, सान्भी इनर्जी, उन्नति सहकार्य लघुवित्त र विन्ध्यबासिनी हाइड्रोपावरको सेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ।
नेपाल पुनर्बिमा कम्पनीको सेयर सर्वाधिक कारोबार भएको छ। यस कम्पनीको ७१ करोड ८८ लाख ८५ हजार रुपैयाँको सेयर किनबेच भएको छ। सोमबार पनि यस कम्पनीको ७५ करोडभन्दा बढीको सेयर कारोबार भएको थियो।
आज कारोबारमा आएका १३ वटै समूहको परिसूचक सकारात्मक देखिएको छ। उत्पादन तथा प्रशोधन समूहको सेयरमूल्य ४.६३ प्रतिशतले सबैभन्दा धेरै बढेको छ।

