///

कतारमा मगर समुदायले धुमधामसँग मनाउँदै माघे सङ्क्रान्ति पर्व

33 पटक हेरिएको

दोहा (कतार) : प्रवासमा रहेर पनि आफ्नो संस्कृति र परम्परालाई जीवन्त राख्ने क्रममा कतारस्थित मगर समुदायले यस वर्ष पनि माघे सङ्क्रान्ति पर्व भव्य रूपमा मनाउने भएको छ। नेपाल मगर संघ, शाखा कतारको मुख्य आयोजनामा आगामी शुक्रबार विविध सांस्कृतिक कार्यक्रमसहित यो मौलिक पर्व मनाउन लागिएको हो।

यो अवसरलाई विशेष बनाउन नेपालबाट ख्यातिप्राप्त लोकदोहोरी गायिका प्रीति आले मगर, गायक अमर रोका मगर तथा चर्चित उद्घोषक पुरन रास्कोटी मगर कतार आइपुग्ने कार्यक्रम रहेको छ। स्थानीय नेपाल मगर सांस्कृतिक परिवारका कलाकारहरूले सालैजो, कौरा, सोरठी, झ्याउरे, हुर्रा र भुम्या जस्ता परम्परागत नृत्य प्रस्तुत गर्नेछन् भने मगर भाषाका गीत, नेपाली लोकदोहोरी, आधुनिक तथा चलचित्रका गीतहरू पनि गुञ्जायमान हुने आयोजकले जनाएको छ।

कार्यक्रम संयोजक देवीकुमारी मगरका अनुसार तयारी अन्तिम चरणमा पुगेको छ भने संघका अध्यक्ष समीर थापा मगरले नेपालबाट कलाकारहरूको आगमनसँगै सबै व्यवस्थापन पूरा हुने बताउनुभयो।

यो विशेष कार्यक्रम अल ओकिरमा अवस्थित डिपीएस मोनार्क इन्टरनेसनल स्कुलको हलमा बिहान ११ बजेदेखि सुरु हुनेछ। सहभागी हुन इच्छुक सबैलाई कतारका विभिन्न क्षेत्रबाट निःशुल्क बस सेवा उपलब्ध गराइएको छ। बस सम्बन्धी जानकारीका लागि यातायात संयोजक दुर्गा दर्लामी मगर (मोबाइल : ३३७६४१४२) र सहसंयोजक नेत्र थापा मगर (मोबाइल : ३३८५८५६५) मा सम्पर्क गर्न आयोजकले अनुरोध गरेको छ।

माघे सङ्क्रान्ति मगर समुदायको ऐतिहासिक तथा सांस्कृतिक महत्व बोकेको पर्व हो। सूर्य मकर राशिमा प्रवेश गर्ने यस दिनलाई नयाँ समय चक्रको शुरुआत, मौसम परिवर्तन र सामाजिक–आध्यात्मिक नवजीवनको प्रतीक मानिन्छ। प्रकृति पूजा, पितृ तर्पण र सामुदायिक एकतासँग जोडिएको यो पर्वले मगर जीवनदर्शनलाई जीवन्त रूपमा प्रस्तुत गर्दछ।

प्रवासमा रहेका नेपालीहरूका लागि यस्ता कार्यक्रमले आफ्नो संस्कृतिसँगको सम्बन्धलाई अझ मजबुत बनाउने विश्वास आयोजकको छ।

जवाफ छाड्नुस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन।