नेपाली कांग्रेसका रुपन्देही क्षेत्र नं. १ बाट प्रतिनिधिसभा उम्मेदवार हिराबहादुर खत्रीले युवापुस्ता तथा जेनजीको भावनालाई उच्च प्राथमिकता दिँदै चुनावी अभियान तीव्र बनाएका छन्।
मतदातासँगको घरदैलो तथा भेटघाट कार्यक्रममा उनले ठूला-ठूला नयाँ घोषणा गर्नुभन्दा विगतमा आफूले गरेको काम र योगदानको स्पष्ट विवरण प्रस्तुत गर्ने गरेका छन्। पार्टीभित्रका पुराना कमी-कमजोरीप्रति खुला आत्मआलोचना गर्दै अब सबै एकजुट भएर देश र क्षेत्रको विकासमा लाग्नुपर्ने उनको जोड छ।
करिब एक महिनाअघि सम्पन्न नेपाली कांग्रेसको विशेष महाधिवेशनपछि पार्टीमा आएको सकारात्मक परिवर्तनबारे मतदातालाई जानकारी गराउँदै उनले मत मागिरहेका छन्। ‘कांग्रेसको इतिहास गर्व गर्न लायक छ, आठ दशकको यात्रामा केही कमजोरी भए पनि ती न्यून छन्,’ उनले भने, ‘ती कमजोरीबाट सिक्दै पार्टी नयाँ ढंगले अघि बढिरहेको छ।’
गत भदौमा जेनजी आन्दोलनले उठाएका मागलाई पार्टीले गम्भीरतापूर्वक आत्मसात् गरेको उनको भनाइ छ। तत्कालीन महामन्त्रीको धारणा र विशेष महाधिवेशनपछि सभापति गगनकुमार थापाले पार्टीले त्यसबाट प्राप्त सन्देशलाई नीति, व्यवहार र काममा लागू गर्ने प्रतिबद्धता जनाइसकेको उनले उल्लेख गरे। ‘परिवर्तनको चाहना बुझ्न नसक्दा जनतामा निराशा बढ्यो, त्यसैको परिणामस्वरूप जेनजी आन्दोलन भयो,’ उनले भने, ‘अब कांग्रेसले आफ्नो गल्ती स्वीकार गर्दै नयाँ सोच र प्रतिबद्धतासहित अगाडि बढेको छ।’
युवासँगको कुराकानीमा उनले कांग्रेस अब जेनजी पुस्ताको अपेक्षा र भावनाअनुसार देश निर्माणमा सक्रिय रहने बताए। सुशासन, पारदर्शिता र भ्रष्टाचार नियन्त्रणमा जनताले प्रत्यक्ष अनुभव गर्ने गरी नयाँ नीति अवलम्बन गरिएको उनको दाबी छ। दलहरूले सत्ताका लागि जस्तोसुकै सम्झौता गर्ने पुरानो प्रवृत्तिले युवामा निराशा बढाएको स्वीकार गर्दै त्यसलाई अन्त्य गर्न पार्टीले नीतिगत सुधार गरेको उनले जानकारी दिए।
समानुपातिक प्रणालीमा पनि विगतका दोहोरिने समस्या सम्बोधन गर्न नयाँ व्यवस्था ल्याइएको छ— एक व्यक्ति एकपटक मात्र समानुपातिक सांसद, एकै व्यक्ति दुईपटकभन्दा बढी प्रधानमन्त्री, तीनपटकभन्दा बढी मन्त्री र चारपटकभन्दा बढी संसदीय टिकट नपाउने प्रावधान। ‘यी नीतिले धेरै गुनासो सम्बोधन गरेका छन्,’ उनले भने, ‘अब फेरिएको कांग्रेसको सन्देश युवामाझ पुर्याएर उनीहरूको मन जित्नुपर्छ।’
क्षेत्रीय विकासलाई आफ्नो मुख्य प्राथमिकता बनाएका खत्रीले फागुन २१ गते हुने निर्वाचनलाई जनप्रतिनिधिको होइन, भदौको घटनापछि बनेको सरकारले गराएको चुनावका रूपमा पनि व्याख्या गरेका छन्। ‘समस्या उठाउने मात्र होइन, समाधानसहित अघि बढ्नुपर्छ,’ उनको भनाइ छ।
यसरी नयाँ पुस्ताको भावना र पार्टीको परिवर्तनलाई जोड दिँदै हिराबहादुर खत्री रुपन्देही-१ मा मत माग्न व्यस्त छन्।

