/

कतारमा कार्यरत जुनु प्रसाई ‘मेरोभ्वाइस युनिभर्स सिजन २’ को फाइनलमा

198 पटक हेरिएको

​दोहा, कतार — अन्तर्राष्ट्रिय नेपाली गायन रियालिटी शो ‘मेरो भ्वाइस युनिभर्स सिजन २’ ले इतिहास रचेको छ । वैदेशिक रोजगारीको सिलसिलामा कतारमा रहेकी नेपाली चेली जुनु प्रसाई फाइनलमा पुगेसँगै यो कार्यक्रममा पहिलो पटक कुनै महिला प्रतिस्पर्धीले फाइनलमा स्थान बनाएकी हुन् ।

​ताप्लेजुङको आठराई हाम्पाङमा जन्मिएकी र तेह्रथुमको आठराई ह्वाकूबाट सांगीतिक यात्रा सुरु गरेकी जुनु हाल झापाको स्थायी बासिन्दा हुन् । रोजगारीका लागि कतारमा रहे पनि उनले आफ्नो सांगीतिक सपनालाई त्यागेकी थिइनन् र कतारका विभिन्न स्टेज कार्यक्रममा समेत सक्रिय थिइन् ।

​२३ देशका नेपाली मूलका प्रतिभाशाली गायक-गायिकाको सहभागिता रहेको यो रियालिटी शोमा जुनु कतार अडिसनबाट छनोट भएर फाइनलसम्मको यात्रा तय गर्न सफल भइन् । नेपाल टेलिभिजनमार्फत प्रसारण भइरहेको यो कार्यक्रम इन्ट्रा नेसनल वेलफेयर एन्ड सपोर्ट फाउन्डेसनद्वारा आयोजना गरिएको हो ।

दर्शकको साथले फाइनलसम्मको यात्रा

​फाइनलमा प्रवेश गरेपछि गायिका जुनु प्रसाईले दर्शक र शुभेच्छुकलाई धन्यवाद दिँदै आफूलाई थप सहयोग गर्न अपिल गरेकी छन् । ‘तपाईंहरूको माया, साथ, सहयोग र हौसलाले ‘मेरो भ्वाइस युनिभर्स सिजन २’ को फाइनलमा पुगेकी छु,’ उनले भनिन्, ‘अझै केही सिँढी चढ्न बाँकी छ । फाइनलसम्मको यात्रामा तपाईंहरूको अझ धेरै साथ, सहयोग र मायाको अपेक्षा गर्दछु ।’

​जुनुलाई विजयी बनाउनका लागि भोटिङ पनि खुला गरिएको छ । उनलाई भोट गर्न मोबाइलको म्यासेज बक्समा MVU 06 टाइप गरी 37000 मा पठाउन सकिन्छ, वा My Intra एप डाउनलोड गरेर उनको प्रोफाइलमा क्लिक गरी भोट दिन सकिन्छ ।

जवाफ छाड्नुस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन।