क्षेत्रीय निर्वाचन परिचालन समिति अन्तर्गत गठित (कास्की) अन्तर्राष्ट्रिय समन्वय समितिले प्रवासमा रहेका कांग्रेसी कस्केलीहरूलाई एकजुट गर्दै आसन्न निर्वाचन लक्षित अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ।
यही फाल्गुन २१ गते सम्पन्न हुन गइरहेको प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनलाई मध्यनजर गर्दै, नेपाली कांग्रेस कास्कीको तर्फबाट चुनावी मैदानमा उत्रिएका कास्की क्षेत्र नम्बर १ का उम्मेदवार तिलक रानाभाट, क्षेत्र नम्बर २ का उम्मेदवार माधवप्रसाद बास्तोला (मधु), क्षेत्र नम्बर ३ का उम्मेदवार मनोज गुरुङ तथा समानुपातिक तर्फका उम्मेदवार आइबहादुर गुरुङलाई भारी मतका साथ विजयी गराउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो।
जुम माध्यमबाट सम्पन्न उक्त अन्तरक्रिया कार्यक्रममा प्रवासबाट उम्मेदवारहरूलाई कसरी सहयोग, समर्थन र समन्वय गर्न सकिन्छ भन्ने विषयमा गहन छलफल गरिएको थियो।
कार्यक्रमको आयोजना क्षेत्रीय निर्वाचन परिचालन समिति अन्तर्गत गठित (कास्की) अन्तर्राष्ट्रिय समन्वय समितिले गरेको हो। कास्की आदर्श समाज अन्तर्राष्ट्रिय समन्वय परिषद्का अध्यक्ष तथा तरुण विभाग अमेरिका प्रमुख, कास्कीका युवा नेता शिव बानियाको संयोजकत्वमा क्षेत्र नम्बर १, २ र ३ का छुट्टाछुट्टै अन्तरक्रिया कार्यक्रम सम्पन्न भएका थिए।
कार्यक्रमको पहिलो दिन क्षेत्र नम्बर ३ का उम्मेदवारको उपस्थितिमा विश्वराज बास्तोलाको सभापतित्वमा कार्यक्रम सम्पन्न भयो भने क्षेत्र नम्बर १ मा बिमल सुवेदी र क्षेत्र नम्बर २ मा सीता बरालको सभापतित्वमा कार्यक्रम सञ्चालन गरिएको थियो। कार्यक्रमको संचालन अग्निधर देवकोटाले गरेका थिए भने सम्पूर्ण कार्यक्रमको संयोजक श्री शिब बानिया रहनू भएको थियो।
प्रवासबाट सम्भवतः पहिलो पटक यति व्यापक रूपमा आयोजना गरिएको उक्त कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रीय तथा जिल्ला तहका नेताहरू, जनसम्पर्क समितिका पूर्व-वर्तमान पदाधिकारी, महासमिति सदस्य, जननिर्वाचित प्रतिनिधि तथा अमेरिका, युरोप,जापन, मध्यपूर्व र एसियाका विभिन्न देशमा रहेका कस्केली कांग्रेसीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
कार्यक्रममा वक्ताहरूले लोकतन्त्रको रक्षा, संविधानको कार्यान्वयन तथा कास्कीको समग्र विकासका लागि नेपाली कांग्रेसका उम्मेदवारलाई विजयी गराउनु अपरिहार्य रहेकोमा जोड दिएका थिए।
अन्तरक्रियाका क्रममा क्षेत्र नम्बर ३ का उम्मेदवार मनोज गुरुङको राजनीतिक योगदान र क्षमताबारे राजबहादुर गुरुङले प्रकाश पारेका थिए भने क्षेत्र नम्बर १ र २ का उम्मेदवारहरूको विषयमा गंगाधर पराजुलीले धारणा राखेका थिए।
कार्यक्रमले प्रवासमा रहेका कस्केली कांग्रेसीहरूलाई थप उत्साहित बनाउँदै मातृभूमिको निर्वाचनमा सशक्त भूमिका निर्वाह गर्ने प्रतिबद्धता अभिव्यक्त गराएको आयोजकले जनाएको छ।

