दोहा, कतार : कतारका लागि नेपाली राजदूत नरेश विक्रम ढकालले पहिलो पटक रक्तदान गरेका छन् । विश्व रक्तदाता दिवसको अवसरमा नेपाली रक्तदाता संघ, कतारको समन्वय र कतारमा स्थापित नेपाली संघसंस्थाहरूको संयुक्त आयोजनामा शुक्रबार सम्पन्न ‘बृहत् रक्तदान कार्यक्रम’मा राजदूत ढकालले आफ्नो जीवनकै पहिलो पटक रक्तदान गरेका हुन् ।
आफूले जीवनमा धेरै पटक रक्तदान गर्न कोसिस गरेपनि असफल भएका बेला कतारमा रक्तदान गर्न आफू सफल भएको बताए । उनले जीवनमै पहिलो पटक कार्यक्रममा पहिलो रक्तदाता बनेर रक्तदान गर्न पाउँदा खुसी लागेको बताए । ढकाल कतारका नेपाली समाजले आयोजना गर्ने सार्वजनिक कार्यक्रममा रक्तदान गर्ने पहिलो राजदूतसमेत बनेका छन् ।
अलसादस्थित हमाद हस्पिटलको ब्लड डोनर सेन्टरमा आयोजित रक्तदान कार्यक्रममा १ सय २७ जनाको उपस्थिति रहेको थियो भने ८४ जनाले रक्तदान गरेको संघका अध्यक्ष रामजी खत्रीले जानकारी दिए ।
कार्यक्रममा आयोजक संघसंस्थाका अलावा कतारमा स्थापित विभिन्न सामाजिक तथा वैचारिक सस्थाहरु, जिल्ला संस्थाहरू, विभिन्न जातीय संस्थाहरू, बुद्धिजीवी, समाजसेवी, पत्रकार तथा सर्वसाधारणको उल्लेख्य उपस्थिति रहेको थियो । संघले कार्यक्रममा उपस्थित भएर रक्तदान गरेका सम्पूर्ण दाताहरूलाई धन्यवाद ज्ञापन गर्दै सम्मान पत्रसमेत प्रदान गरेको थियो । रक्तदान जस्तो पुण्य कार्यमा सहभागी भएर कार्यक्रमलाई सभ्य र भव्य बनाइदिने सम्पूर्णलाई संघले धन्यवाद तथा आभार प्रकट गरेको छ ।