/

लाओसलाई १–० गोल अन्तरले हराउँदै नेपाल दोस्रो चरणमा

223 पटक हेरिएको

काठमाडौं : नेपाल फिफा विश्वकप फुटबलको एसिया छनोटको दोस्रो चरणमा प्रवेश गरेको छ । मंगलबार दोस्रो लेगको खेलमा घरेलु टोली लाओसलाई १–० गोल अन्तरले हराउँदै नेपाल समग्रमा २–१ को नतिजासहित दोस्रो चरण प्रवेश गरेको हो ।

दशरथ रंगशालमा भएको पहिलो लेगमा नेपाल बराबरीमा रोकिएको थियो । मंगलबार भएको खेलमा नेपाललाई जित दिलाउन मनिष डाँगीले निर्णायक गोल गरेका हुन् । नेपाल र लाओसबिचको खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो । 

खेलको ५३औं मिनेटमा मनिषले गोल गर्दै नेपाललाई जित दिलाए । उनले अन्जन विष्टको पासमा गोल गर्दै नेपाललाई दिलाएका हुन् । यसअघि खेलको १८ औं मिनेटमा घरेलु टोली लाओसले अग्रताको अवसर गुमायो । उसका मिकेल भानको शक्तिशाली प्रहारलाई नेपाली कप्तान तथा गोलरक्षक  किरण चेम्जोङले बचाए ।  

त्यस्तै नेपालले २२ औं मिनेटमा नेपालले अग्रता बनाउने अवसर गुमाएको थियो । अन्जन विष्टले उत्शव राईको क्रसमा गरेको हेडरले गोलपोस्टको दिशा लिन सकेन । २९ औं मिनेटमा फौथाभोङ साङभिलेको पासमा चोनी वानपासेर्थको प्रहार बाहिरिँदा लाओसले अर्को सुनौलो अवसर गुमाएको थियो ।

नेपालका लागि डिफेन्डर अमृत श्रेष्ठले राष्ट्रिय टिमबाट डेब्यु गरे । प्रशिक्षक भिसेन्जो एनिसले श्रेष्ठलाई सेन्टर फरवार्डको रुपमा खेलाएका थिए । नेपालले अब दोस्रो चरण अन्तर्गत समूह एचमा यूएई, बहराइन र यमनसँग प्रतिस्पर्धा गर्नेछ ।

जवाफ छाड्नुस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन।