दोहा: प्रवासमा रहेका अर्घाखाँचीवासीहरुलाई एकजुट गर्दै नेपाली समाजलाई सहयोग गर्ने उद्देश्य बोकेको अर्घाखाँची समाज कतारले आफ्नो छैटौं अधिवेशन सम्पन्न गरेको छ। सनैया स्थित फुलबारी रेस्टुरेन्टमा शुक्रबार आयोजित अधिवेशनले बालाराम पाण्डेको नेतृत्वमा १४ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मतिले चयन गरेको हो।
नयाँ कार्यसमितिको प्रथम उपाध्यक्षमा अनिल परियार, द्वितीय उपाध्यक्षमा शोभाखर भुषाल, महासचिवमा तिलक राम घिमिरे, सचिवमा श्रीधर आचार्य र कोषाध्यक्षमा कृष्ण कुमार बस्नेत चयन भएका छन्। सह-कोषाध्यक्षको जिम्मेवारी बाबुराम खड्काले पाएका छन्। अन्य सदस्यहरुमा अनमोल परियार, बाबुराम पौडेल, राम कृष्ण परियार, कृष्ण ताम्राकार, तोज थापा, यम लाल बन्जाडे र बल बहादुर अधिकारी रहेका छन्। पहिलो बैठकबाट थप पाँच सदस्य मनोनित गरिने समाजले जनाएको छ।
नेपाली दूतावास दोहा कतारका प्रथम सचिव कृशु क्षेत्री प्रमुख अतिथि रहेको कार्यक्रममा नवनिर्वाचित कार्यसमितिलाई निर्वाचन समितिका संयोजक ठाकुर कुमार परियारले पद तथा गोपनीयताको शपथ गराएका थिए।
अध्यक्ष बिष्णु कुँवरको सभापतित्वमा सम्पन्न कार्यक्रममा बोल्दै प्रमुख अतिथि क्षेत्रीले कतारमा नेपाली समाजले खेल्नुपर्ने भूमिका र यहाँ रहेका नेपालीहरुका समस्याबारे चर्चा गरे। उनले कतारमा नेपालीहरुले आत्महत्या गर्ने र ठगीका घटना बढिरहेकोमा चिन्ता व्यक्त गर्दै सामाजिक संघसंस्थाहरुले यस विषयमा समन्वयकारी भूमिका खेल्नुपर्नेमा जोड दिए।नेपाली बाट नै नेपाली ठगिएको जिकिर गर्दै क्षेत्रीले ९९% ठगीका घटना नेपालीले नेपालीलाई ठगेको दुताबासमा आउने गरेको बताए l
अधिवेशनमा स्थानीय कलाकार अस्मिता सुनार लामीछाने, रेस्मी बिस्वकर्मा, दिपेन्द्र सुनार लगायतले सांगीतिक प्रस्तुति दिएर दर्शकहरुलाई मनोरञ्जन प्रदान गरेका थिए। कार्यक्रममा विभिन्न व्यक्तित्वहरुलाई सम्मान समेत गरिएको थियो।
समाजका महासचिव अनिल परियारले कार्यक्रम सञ्चालन गरेका थिए। समापनमा अध्यक्ष कुँवरले आफ्नो कार्यकालमा सहयोग गर्ने सबैलाई धन्यवाद दिए। अर्घाखाँची समाज कतारले प्रवासमा रहेका नेपालीहरुलाई सहयोग गर्नुका साथै नेपालमा आइपर्ने विपत्तिमा पनि सहयोग गर्दै आएको छ।