/

मौलिक रत्यौली भाका ‘आँधीखोले माया’ सार्वजनिक

158 पटक हेरिएको

अर्जुन पौडेल ,दोहा – मौलिक रत्यौली भाकामा आधारित लोकदोहोरी गीत ‘आँधीखोले माया’ आज सार्वजनिक भएको छ। लोकप्रिय गायक पशुपति शर्मा र गायिका रेश्मी सेन्चुरीको सुमधुर स्वर रहेको यो गीत बाबा इन्टरटेनमेन्ट टिभीको युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको हो।

प्रवेश पौडेलद्वारा रचित शब्द र संगीत रहेको यस गीतको भिडियो निर्देशन प्रबिन थापाले गरेका हुन् भने संगीत संयोजन दिवस थापा मगरको रहेको छ । गीतको भिडियोमा कलाकार उषा उप्रेती र स्वयं गायक पशुपति शर्माको जीवन्त अभिनय देख्न सकिन्छ।

लामो समयदेखि प्रवासमा रहेर पनि नेपाली गीतसंगीतमा निरन्तर लगानी गरिरहेका पत्रकार तिलु शर्मा पौडेलले यस गीतको निर्माण गरेका हुन्।गीतमा स्वर दिएकी रेश्मी सेन्चुरी पनि वैदेशिक रोजगारको सिलसिलामा लामो समयदेखि कतारमा कार्यरत छिन्। कतारमा आयोजना हुने साप्ताहिक सांस्कृतिक कार्यक्रमहरूमा नियमित रूपमा आफ्नो प्रस्तुति दिँदै आएकी सेन्चुरीले यसअघि आफ्नै लगानीमा तीज गीत सार्वजनिक गरेकी थिइन्। वैदेशिक भूमिमा रहेर पनि पौडेल र सेन्चुरीले नेपाली कला र संस्कृतिमा देखाएको सक्रियता साँच्चै नै प्रशंसनीय छ।

सार्वजनिक हुनुभन्दा दुई दिन अगाडिदेखि नै विभिन्न डिजिटल प्लेटफर्महरूमा प्रचार गरिएको यो गीतले टिकटक र रीलहरूमा समेत चर्चा बटुलिसकेको छ। ‘आँधीखोले माया’ ले नेपाली लोक संगीतप्रेमी दर्शकहरूको मन जित्ने विश्वास गरिएको छ।

दर्शकहरूले यो गीत बाबा इन्टरटेनमेन्ट टिभीको आधिकारिक युट्युब च्यानलमा हेर्न र सुन्न सक्नेछन्।

जवाफ छाड्नुस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन।