/

नवोदित कृती अवार्ड २०८२ प्रेम प्रसाद भट्टराईको ‘अरब’लाई

209 पटक हेरिएको

दोहा, कतार — नवोदित साहित्यिक वाचनालय कतारद्वारा प्रदान गरिने ‘नवोदित कृती अवार्ड २०८२’ यो वर्ष साहित्यकार प्रेम प्रसाद भट्टराईलाई प्रदान गरिएको छ। भट्टराईको गीति संग्रह ‘अरब’ लाई उत्कृष्ट कृति ठहर गर्दै उक्त सम्मान प्रदान गरिएको हो।

साझा प्रकाशनद्वारा विक्रम सम्वत २०८० मा प्रकाशित ‘अरब’ गीति संग्रहको काव्यिक गहिराइ, सिर्जनात्मक मौलिकता र समसामयिक विषयवस्तु समेटिएको लेखनशैलीको मूल्यांकन गर्दै उनलाई सम्मानपत्र, ट्रफी र नगद रु. ५,५५५ सहित सम्मानित गरिएको हो।

पुरस्कार वितरण कार्यक्रम २०२५ जुलाई १८, शुक्रबारका दिन कतारको मुन्तजा पार्क नजिकै गोर्खाली रेस्टुरेन्टको सभाहलमा आयोजित नवोदित साहित्यिक वाचनालय कतारको १७औँ अधिवेशनमा सम्पन्न भयो। कतारमा बसोबास गर्ने वा कतार छाडिसकेका नेपाली लेखकहरूले नेपाली भाषामा रचना गरेका कृतिहरूलाई सम्मान गर्ने उद्देश्यले दुई-दुई वर्षमा प्रदान गरिने यो पुरस्कारको आठौँ संस्करण हो।

खोटाङ जिल्लाको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१४ (साविक बुईपा–८, राम्चे) मा २०३५ सालमा जन्मिएर, हाल भक्तपुरको सूर्यविनायक नगरपालिका–५, प्रगति चोकमा बस्दै आएका भट्टराई विगत दुई दशकदेखि नेपाली साहित्यमा सक्रिय छन्।

पुरस्कार ग्रहणपश्चात प्रतिक्रिया दिँदै भट्टराईले भने, “यो सम्मान मेरो साहित्यिक यात्राको अविस्मरणीय उपलब्धि हो। यो पुरस्कारले मलाई अझ जिम्मेवार बनाएको छ। म जीवनभर नेपाली साहित्य, भाषा, कला र संस्कृतिको सेवामा समर्पित रहने प्रण गर्दछु।”

भट्टराईका यसअगाडि प्रकाशित कृतिहरूमा ‘सावित्री’ (गीतिकाव्य, २०६८), ‘प्रतीक’ (गजल संग्रह, २०६९), ‘कृपा’ (डी.भी.डी. एल्बम, २०७२), ‘सडकका कुरा’ (मुक्तक संग्रह, २०७५), र ‘धर्मानन्द भट्टराई’ (शोककाव्य, २०७७) समावेश छन्। उनले ‘सन्देश’ वार्षिक पत्रिका (खोटाङ सेवा समाज कतार) का प्रधान सम्पादक तथा ‘खोटाङका गजलहरू’ (सामूहिक गजल संग्रह) का सम्पादक र प्रकाशकको रूपमा पनि भूमिका निर्वाह गरेका छन्।

भट्टराई अनेसास शिखर पुरस्कार कतारका अध्यक्ष, सन्ध्या ग्रुप अलखोर कतारका संरक्षक, खोटाङ सेवा समाज कतारका संरक्षक संयोजक, हुन्। साथै,  नवोदित साहित्यिक वाचनालय कतार, कोशी प्रदेश समन्वय परिषद कतार, अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज कतारका  सल्लाहकार हुन् , साथै  अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज ,साहित्य पत्रकार शंघ नेपाल ,   हिमालय अनलाइन रेडियो ,  गोधुली साहित्य  प्रतिष्ठान नेपाल , हातेमालो साहित्य प्रतिष्ठान लगायत आधा दर्जन बढी सस्थामा आजिबन सदस्य छन्

यसअघि महेन्द्र अदृश्य राई (२०६९), भानु सुनुवार (२०७०), लेख कार्की (२०७२), विनोद खड्का (२०७४), मीनराज वसन्त (२०७६), होम कार्की (२०७८), र शोभाराम ओली (२०८०) ले यो पुरस्कार प्राप्त गरिसकेका छन्।

‘अरब’ गीति संग्रहले प्रेम प्रसाद भट्टराईको साहित्यिक यात्रा र सिर्जनाको गहिराइलाई पुष्टि गर्दै यसपटकको नवोदित कृती अवार्ड जितेको हो। यो सम्मानले उनको साहित्यिक पहिचानलाई अझ प्रगाढ बनाउने विश्वास गरिएको छ।

जवाफ छाड्नुस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन।