दोहा, कतार –
कतारमा रहेका प्रवासी नेपाली समुदायका लागि रोजगारी, व्यक्तित्व विकास र करियर उन्नतिमा केन्द्रित विशेष निःशुल्क कार्यक्रम “Upgrade Yourself – Career Development Awareness Workshop” आयोजना हुने भएको छ। कार्यक्रम आगामी नोभेम्बर १४, २०२५ (शुक्रबार) का दिन बिहान ११:०० बजे देखि दिउँसो २:०० बजे सम्म मुन्ताजा पार्क नजिक रहेको गोरखाली रेस्टुरेन्टमा सम्पन्न हुनेछ।
आयोजकहरूले जनाएअनुसार, यो कार्यशालाको मुख्य उद्देश्य प्रवासी नेपालीहरूलाई रोजगारी खोज्ने प्रभावकारी तरिका, कम्पनीहरूसँग सम्पर्क गर्ने सीप, आकर्षक सिभी तयार पार्ने ज्ञान, र अन्तर्वार्तामा आत्मविश्वासपूर्वक प्रस्तुत हुने कला सिकाउने हो। साथै सहभागीहरूले Personality Development, Communication Improvement, Life Growth Guidance जस्ता विषयमा व्यवहारिक ज्ञान प्राप्त गर्नेछन्।
कार्यक्रममा कतारमा लामो अनुभव भएका मानव संसाधन (HR) र नेतृत्व विकास विज्ञहरूले प्रशिक्षण दिने छन्। प्रशिक्षकहरूमा नरेन्द्र अर्याल, उमेश महोरा, तीना राई, अच्युत भट्टराई, र कल्याण थापा रहेका छन्। उनीहरूले HR रणनीति, नेतृत्व विकास, परिवर्तन व्यवस्थापन, र करियर कोचिङका क्षेत्रमा आफ्नो अनुभव र सफलता कथाहरू साझा गर्नेछन्।
यो कार्यक्रम पूर्ण रूपमा निःशुल्क भए पनि अग्रिम दर्ता अनिवार्य गरिएको छ। इच्छुकहरूले पोस्टरमा दिइएको QR Code स्क्यान गरी Google Form भरेर दर्ता गर्न सक्नेछन्। सीमित कोटाका कारण पहिले दर्ता गर्नेहरूलाई प्राथमिकता दिइनेछ।
आयोजकका अनुसार, “Pathways to Your Career Success” भन्ने शीर्षकमा सञ्चालन हुने यो कार्यक्रमले प्रवासी नेपालीहरूलाई आफ्नो करियरमा नयाँ दिशा दिन, रोजगार तयारीमा दक्ष बनाउन, र आत्मविश्वासका साथ भविष्यतर्फ अघि बढ्न प्रेरित गर्नेछ।

