कतारमा लोक तथा दोहोरी गीत प्रतिष्ठानको चौथो अधिवेशन सम्पन्न : कृष्णप्रसाद ढकालको नेतृत्वमा नयाँ कार्यसमिति चयन

202 पटक हेरिएको

कतार, ३० कात्तिक । लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल (शाखा) कतारले चौथो अधिवेशन भव्यताका साथ सम्पन्न गर्दै कृष्णप्रसाद ढकालको नेतृत्वमा नयाँ २५ सदस्यीय कार्यसमिति चयन गरेको छ ।

नवनिर्वाचित पदाधिकारीहरूमा प्रथम उपाध्यक्ष कृष्ण दर्लामी, द्वितीय उपाध्यक्ष गोविन्द कटुवाल, महिला उपाध्यक्ष रेश्मी सेन्चुरी, सचिव प्रकाश दर्नाल, कोषाध्यक्ष गोकुलप्रसाद सापकोटा, महिला सचिव लक्ष्मी कार्की, सहसचिव बाबु कौशल र सहकोषाध्यक्ष पुकार थापा रहेका छन् ।

यसैगरी कार्यसमिति सदस्यहरूमा राजन परियार, सङ्गीत वि.सी., श्याम पाण्डे, नारायण देवकोटा, नयन शर्मा, प्रताप मुस्कान, सन्तोष विश्वकर्मा, लक्ष्मीप्रसाद सापकोटा, विशन वि.सी., देवबहादुर विश्वकर्मा, जमुना वि.सी., गङ्गा वि.सी., सोम विश्वकर्मा, तारा वि.सी., खड्ग बस्नेत र गीता भट्टराई चयन भएका छन् ।

संस्थाको नवौं स्थापना दिवस, आठौं वार्षिक साधारणसभा तथा विविध सांस्कृतिक कार्यक्रम अध्यक्ष शिवराम ढकालको सभापतित्व र संस्थापक अध्यक्ष कृष्ण बरालको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो । विधिवत् रूपमा केक काटेर उद्घाटन गरिएको कार्यक्रममा विभिन्न विधाका कलाकारहरूको बेजोड प्रस्तुति रहेको थियो ।

तीनवर्षे कार्यकालमा हरेक परियोजना र गतिविधिमा सहयोग पुर्‍याउने संघ–संस्था, व्यवसायी, समाजसेवी, कलाकार तथा पत्रकारहरूलाई सम्मान गरिएको थियो ।

अधिवेशनमा वक्ताहरूले “प्रतिष्ठान शाखा कतार नेपालीहरूको गहना हो” भन्दै कला–संस्कृतिको संरक्षण र प्रवर्द्धन सबैको साझा दायित्व रहेको जोड दिए ।

प्रमुख अतिथि बरालले संस्था स्थापनाको स्मरण गर्दै योगदानको मूल्याङ्कन नभएको गुनासो व्यक्त गरे । उनले जिल्लास्तरको मात्र मान्यता दिइएकोमा असन्तुष्टि जनाउँदै अधिकारका लागि सङ्घर्ष गर्नुपर्ने समय आएको बताए । नयाँ कार्यसमितिले संस्थालाई बलियो बनाउने, कलाकारको भविष्य सुनिश्चित गर्ने, श्रम र हकहितको संरक्षण गर्ने तथा मौलिक सिर्जना र नयाँ प्रतिभालाई प्रोत्साहन दिनेमा आफू विश्वस्त रहेको उनको भनाइ थियो ।

सभापति ढकालले विदेशमा पनि नेपाली गीत–सङ्गीत र संस्कृतिलाई विश्वमाझ पुर्‍याउने प्रयास जारी रहने प्रतिबद्धता जनाए । आफ्नो कार्यकालमा “उत्कृष्ट विदेश शाखा” सम्मान प्राप्त गरेकोमा सम्पूर्ण टिमलाई धन्यवाद दिँदै बाँकी काम नयाँ समितिले पूरा गर्ने विश्वास व्यक्त गरे ।

जवाफ छाड्नुस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन।