काठमाडौं, ३० कात्तिक – साताको पहिलो कारोबार दिन आइतबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ५.१५ अंकले ओरालो लाग्दै २५४० अंकमा सीमित भएको छ। बजार दिनभर सामान्य उतारचढावमा रहे पनि दिउँसो २:५३ बजेतिर २५३३ अंकको न्यूनतम विन्दु छोएको थियो।
कारोबार रकम भने सुधार भएको छ। अघिल्लो दिन ३ अर्ब ४९ करोडको सेयर किनबेच भएकोमा आज ३ अर्ब ८९ करोड पुगेको छ। कुल २५६ कम्पनीको कारोबारमा ७४ को मूल्य बढ्यो, १६८ को घट्यो र १४ को स्थिर रह्यो।
समूहगत सूचकमा १ प्रतिशतभन्दा कम उतारचढाव देखियो। होटल तथा पर्यटन ०.१८ प्रतिशत, उत्पादन तथा प्रशोधन ०.०२ प्रतिशत र अन्य समूह ०.७२ प्रतिशतले बढे। बैंकिङ ०.३०, विकास बैंक ०.५२, फाइनान्स ०.८७, हाइड्रोपावर ०.४९, लगानी ०.३४, जीवन बीमा ०.१२, माइक्रोफाइनान्स ०.३८, निर्जीवन बीमा ०.४९ तथा व्यापार ०.१० प्रतिशतले घटे।
हालै सूचीकृत सागर डिस्टिलरी, बुंगल हाइड्रोपावर र बन्दीपुर केबुलकारको मूल्य १० प्रतिशतले उक्लियो। नबिल डिबेन्चर २०८५ को मूल्य ९.९१ प्रतिशत र नबिल डिबेन्चर २०८९ को ६.९० प्रतिशत बढ्यो।
भूगोल इनर्जीको मूल्य १० प्रतिशतले घट्यो। रुरु जलविद्युत् ९.५२ प्रतिशत, दरामखोला हाइड्रोपावर ६.०९ प्रतिशत, पिपुल्स हाइड्रोपावर ५.२३ प्रतिशत र माबिलुङ इनर्जी ४.३७ प्रतिशतले ओरालो लाग्यो।
सर्वाधिक कारोबार हुनेमा सिद्धार्थ बैंक डिबेन्चर ०८९, नेपाल पुनर्बीमा, माउन्टेन इनर्जी, एनआरएन इन्फ्रास्ट्रक्चर र युनियन हाइड्रोपावर रहे।

