स्थानीय तहको निर्वाचन आगामी वैशाख महिनाको अन्त्यतिर र प्रदेशसभाको निर्वाचन मंसिरमा गराउनुपर्ने पार्टीको धारणा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पुनः दोहोर्याएका छन्। संविधानले व्यवस्था गरेअनुसार जनप्रतिनिधिले पाँच वर्षको कार्यकाल पूरा गर्न पाउनुपर्ने भन्दै उनले फागुन वा चैतमा नभई वैशाखको अन्तिममा मात्र स्थानीय तहको चुनाव गर्नुपर्ने बताए।
पार्टीको राष्ट्रिय जनप्रतिनिधि भेलालाई सम्बोधन गर्दै ओलीले स्थानीय तहको सबलीकरणमा जोड दिए। स्थानीय तहलाई स्वायत्त सरकारका रूपमा अगाडि बढाउनुपर्ने उनको भनाइ थियो। विधायी, कार्यकारी र न्यायिक — राज्यका तीनवटै अङ्गका अधिकार स्थानीय तहसँग रहेको र त्यस्तो अधिकार अन्य तहसँग नभएको उनले उल्लेख गरे।
राष्ट्रियस्तरका ठूला विकास आयोजना र राष्ट्रिय व्यवस्थापनको जिम्मेवारी संघीय सरकारकै रहने भए पनि जनताको दैनिक सेवासुविधा र स्थानीय आवश्यकतासँग जोडिएका काम स्थानीय तहमार्फत गर्दा बढी प्रभावकारी हुने ओलीले बताए। स्थानीय तह बलियो हुँदा देशमा विखण्डन वा पृथकतावादी प्रवृत्ति बढ्ने नभई विकास निर्माण र जनसेवा सुदृढ हुने उनको दाबी छ।
प्रदेशलाई अधिकारसम्पन्न बनाउँदा भने पृथकतावादी र जातिवादी प्रवृत्ति मौलाउने आशङ्का उनले व्यक्त गरे। स्थानीय तहलाई सबल बनाइएमा त्यस्तो जोखिम रहँदैन भन्ने उनको भनाइ थियो।
जनतासँग विनम्र व्यवहार गर्न निर्देशन
भेलामा ओलीले जनप्रतिनिधिहरूलाई जनताप्रति शालीन, विनम्र र मित्रतापूर्ण रहन आग्रह गरे। जनताले दिएको मतकै बलमा आफूहरू जिम्मेवार पदमा पुगेको स्मरण गराउँदै उनले पदको रवाफ देखाउनुको साटो मुस्कानसहित सेवा दिनुपर्ने बताए। रूखो बोली वा पदको धाकले जनतालाई रिस उठ्ने तर नरम र मिलनसार व्यवहारले खुसी बनाउने उनले उल्लेख गरे।
आगामी निर्वाचनलाई ध्यानमा राखेर उनले विगतका कमजोरी सुधार्न र जनतासँग चिसिएको सम्बन्ध जोड्न निर्देशन दिए। राम्रो काम गरेका जनप्रतिनिधिलाई पुनः उम्मेदवार बनाइने सम्भावना रहेको बताउँदै उनले उम्मेदवार कोही भए पनि पार्टीले अगाडि सारेको उम्मेदवारलाई जिताउन सबै एकजुट हुनुपर्ने बताए।
अन्तर्घात गर्नेलाई पार्टीमा ठाउँ छैन
ओलीले पार्टीभित्रै बसेर अन्य उम्मेदवारलाई मत हाल्ने र आफ्नै पार्टीको उम्मेदवार हराउने प्रवृत्तिप्रति कडा असन्तुष्टि जनाए। यस्तो व्यवहारलाई लज्जास्पद भन्दै उनले अन्तर्घातमा संलग्नलाई नेकपा एमालेमा कुनै स्थान नरहेको चेतावनी दिए।
एमाले हार्न नभई जित्नका लागि जन्मिएको पार्टी रहेको दाबी गर्दै उनले यसले राष्ट्रियताको रक्षा, सुशासन र विकासको काम गर्ने बताए। जनताको दुःखसुखमा साथ दिँदै उनीहरूसँगको विश्वास पुनः जितेर आगामी निर्वाचनमा विजय हासिल गर्न पार्टीका नेता तथा जनप्रतिनिधिहरूलाई उनले आग्रह गरे।
यसअघि पार्टीलाई मत नदिएका जनतालाई पनि टाढा नगरी सम्झाएर आफ्नो पक्षमा ल्याउनुपर्ने उनको सुझाव छ। बाँकी समय जनताको सेवामा खर्च गर्दै गाउँगाउँमा पुगेर जनसम्बन्ध बलियो बनाउन र पार्टीको उम्मेदवार जिताउने साझा लक्ष्यका साथ चुनावी तयारीमा जुट्न पनि ओलीले निर्देशन दिए।

