काठमाडौँ — कांग्रेस सभापति शेरबहादुर देउवा स्वास्थ्य परीक्षणका लागि सिंगापुरमा रहेकै क्षण नयाँ सत्ता समीकरणको रूपरेखा कोर्न कांग्रेस र एमालेका दोस्रो तहका नेताहरूबीच भित्रभित्रै चलिरहेका संवादले सत्तारूढ गठबन्धनभित्र अविश्वास बढाएको छ । धेरै साना दलको समीकरण बन्दा राजनीतिक अस्थिरता हुने भन्दै एमालेले दुई ठूला दलको सहभागितामा सरकार बनाउन पहल गरेको छ, जसले आकार भने लिइनसकेको दुवैतर्फका नेताहरूको भनाइ छ ।
स्वास्थ्य परीक्षणका लागि भन्दै जेठ ३० मा सिंगापुर गएका देउवा बुधबार बिहान ११ बजे स्वदेश फर्कने कार्यक्रम थियो तर फर्कने समय अचानक परिवर्तन गरेर देउवाले केही महत्त्वपूर्ण राजनीतिक भेटघाट गरेको सत्ता गठबन्धनभित्र आशंका छ । यता, यही बेला प्रधानमन्त्री पुष्पकमल दाहालले एमालेबाहेकका वाम शक्तिलाई एकत्रित गराई असार ४ मा समाजवादी मोर्चा गठन गरेका छन् । यी घटनाक्रमले कांग्रेस र माओवादी आपसमा संशकित भएको बेला एमालेले नयाँ गठबन्धनको पहल तीव्र बनाएको छ ।
एमालेसँग संवादमा कांग्रेसका एक नेताका अनुसार एमालेका नेताहरूले नै कांग्रेस–एमाले गठबन्धन बनाउन पहलकदमी लिइरहेका छन् । ठूलो दल (कांग्रेस) कै नेताले सरकारको नेतृत्व गर्दा प्राकृतिक हुन्छ, दुई दल मिल्दा साना दलहरूलाई मोलमोलाइको अवसर हुँदैन, सरकारले प्रभावकारी काम गर्न सक्छ भन्ने तर्क अघि सार्दै एमालेका नेताहरूले संवाद अघि बढाएका छन्,’ उनले भने, तर यस विषयमा हाम्रा सभापति नै अहिलेसम्म सकारात्मक देखिनुभएको छैन । सिंगापुर भ्रमणपछि उहाँको भनाइ के हुने हो, प्रतीक्षा गरिरहेका छौं ।’
देउवा सकारात्मक नभए तत्काल गठबन्धन सम्भव नहुने र कांग्रेसको इतर समूह पनि सामेल नभए नयाँ गठबन्धन बलियो नहुने ठानेर एमालेले कांग्रेसका सबै पक्षसँग संवाद गरिरहेको छ । कांग्रेसको संस्थापन पक्षका नेताहरूसँग मात्रै कुरा गर्दा समीकरण भरपर्दो नहुने ठानेर यस पटक एमालेले कांग्रेस नेता शेखर कोइराला, महामन्त्री गगन थापा र संस्थापन पक्षका नेता ज्ञानेन्द्रबहादुर कार्कीसहितसँग विभिन्न चरणमा संवाद गरिरहेका छन्,’ ती नेताले भने ।
कांग्रेस महामन्त्री गगन थापा तत्काल त्यस्तो सम्भावना नदेखिए पनि भविष्यमा कांग्रेस र एमालेबीच समीकरण बन्न असम्भव नभएको बताउँछन् । ‘आजको दिनमा त्यस्तो केही भइरहेको छैन तर हाम्रोमा गठबन्धन बन्न र भत्किनका लागि कुनै सैद्धान्तिक आधार चाहिने होइन । कुनै पनि बेला दुई ठूला पार्टी मिलेर सरकार बन्ने बाटोतिर जान्छ भनियो भने असम्भवचाहिँ होइन,’ उनले भने । एमाले उपाध्यक्ष एवं संसदीय दलका उपनेता सुवास नेम्वाङले पनि कांग्रेस नेताहरूसँग पछिल्लो पटक हुने गरेका संवादमा हार्दिकता बढिरहेको बताए ।
‘बजेटप्रति सत्तारूढ सांसदले देखाइरहेको चरम असन्तुष्टिले पनि वर्तमान सत्ता गठबन्धन के हुने भन्ने खालका चर्चा छ । राजनीतिमा सबै खालका सम्भावना हुन्छन्, पछिल्लो पटक कांग्रेस नेताहरूसँग खुलेर संवाद हुन्छ, हार्दिकता देखिन्छ ।’ के तपाईंहरूले कांग्रेस सभापति देउवालाई प्रधानमन्त्री बनाउने गरी समीकरण बनाउन खोज्नुभएको हो भन्ने प्रश्नमा नेम्वाङले थपे, ‘त्यो त मलाई थाहा भएन तर के हो भने सामान्य ढंगले कुरा गर्दा देशको पहिलो पार्टी छ, बाहिर बस्दै, खालि काँध मात्रै थाप्ने हो त ? काँधमा चढ्नेले अलि राम्रै काम गरेको भए त हुने थियो, १० वटा बदनामी कुराहरू उठिरहने, अनि अर्कोले काँधमा बोकेर हिँडिरहने भए । त्यसैले यस्ता कुराहरू भइहाल्छन् । आकार देखिएको छैन, तर भित्रभित्र चर्चाहरू चलिरहेका छन् ।’
२ सय ७५ सदस्यीय प्रतिनिधिसभामा सरकार बनाउन चाहिने बहुमत अंक भनेको १ सय ३८ हो । यस्तो अवस्थामा मोर्चाबाहेक कांग्रेस र एमाले मिलेर मात्रै सरकार बन्ने विकल्प हुन्छ । अहिलेको सरकार सुरक्षित गर्न वा भविष्यमा सहमतिअनुसार अर्को सरकार बनाउन ५४ सिटसहितको मोर्चा संसद्मा निर्णायक रहनेछ । तर, मोर्चा गठनपछि संसद्को सत्ता समीकरणका विभिन्न विकल्पलाई साँघुरो बनाउने काम गरे पनि कांग्रेस र एमालेका दोस्रो तहका नेताहरूबीच भइरहेका संवादले दाहाललाई झस्काएको छ ।
समाचार अाजकाे कान्तिपुरले छापेकाे छ ।