/

यूएईविरुद्ध नेपाल ५ विकेटले विजयी

129 पटक हेरिएको

काठमाडौं– त्रिकोणात्मक टी–२० आई क्रिकेट सिरिजअन्तर्गत यूएईविरुद्धको खेलमा नेपाल ५ विकेटले विजयी भएको छ। यूएईले दिएको १६५ रनको लक्ष्य नेपालले १९.२ ओभरमा ५ विकेट गुमाएर पुरा गर्‍यो। 

नेपालका लागि आसिफ शेखले सर्वाधिक ६२ रन बनाए। यस्तै, रोहित पौडेलले ४७ रन बनाए। चौथो नम्बरमा क्रिजमा आएका दीपेन्द्र सिंह ऐरीले नटआउट ४० रन बनाए। 

नेपालले सुरुवातमै महत्त्वपूर्ण ३ विकेट गुमाएको थियो। ३ ओभर नखेल्दै कुशल भुर्तेल, सोमपाल कामी र कुशल मल्ल आउट भएका थिए। त्यसपछि क्रिजमा आएका कप्तान रोहित पौडेल र ओपनिङ ब्याटर आसिफ शेखले ९९ रनको साझेदारी गर्दै नेपालको ब्याटिङ लाइन सम्हालेका थिए।

आसिफ आउट भएपछि क्रिजमा आएका दीपेन्द्रले उत्कृष्ट सुरुवात गरे। पहिलो बललाई नै बाउन्ड्री पुर्‍याएका दीपेन्द्रले १५ बलमा १ छक्का र ६ चौका प्रहार गरे। 

नेपालविरुद्ध यूएईका मुहम्मद जावदुल्लाहले २ तथा अकिफ राजा र अलि नासीरले १–१ विकेट लिए। नेपालका १ जना ब्याटर (कुशल मल्ल) रनआउट भएका थिए। 

काठमाडौंको मुलपानी क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको यूएईले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १६४ रन बनाएको थियो।

यूएईका लागि वृत्या अरविन्द र बसिल हमीदले समान ४५ रन बनाए। यूएईका लागि सर्वाधिक रन बनाएका दुवै खेलाडी नेपालका अविनाश बोहराबाट आउट भएका थिए। 

यूएईका लागि असिफ खानले १८ तथा खालिद शाहले १२ रन बनाए। अन्य ब्याटरले दोहोरो अंक जोड्न सकेनन्। 

नेपालका लागि सोमपाल कामी र अविनाश बोहराले समान २–२ विकेट लिए। यस्तै, करण केसी र गुलसन झाले १–१ विकेट लिए भने यूएईका १ जना ब्याटर रनआउट भएका थिए। 

जारी सिरिजअन्तर्गत नेपालले यसअघि पहिलो खेलमा यूएईलाई ७ विकेटले पराजित गरेको थियो। दोस्रो तथा तेस्रो खेलमा हङकङलाई पराजित गरेको थियो। 

नेपालले यसअघि नै फाइनलमा स्थान बनाइसकेको थियो। सोमबारको जितसँगै नेपाल ४ खेलबाट ८ अंक जोडेर शीर्ष स्थानमा छ। यूएई ३ खेलबाट २ अंकसहित दोस्रो स्थानमा छ। हङकङ भने लागातार ३ खेलमा हार बेहोरेर अंकविहीनन हुँदै पुछारमा छ।

जवाफ छाड्नुस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन।