काठमाडौं । मिति परिवर्तन भएको हिमालयन रि–इन्स्योरेन्सले वैदेशिक रोजगारीमा रहेका नेपालीलाई निष्कासन गर्न लागेको आईपीओ आज बाट निष्कासन गरेको छ । कम्पनीले कात्तिक २१ गतेदेखि निष्कासन गर्ने भनेको आईपीओ सार्वजनिक लेखा समितिमा आईपीओ निष्कासनका विषयमा उजुरी परेपछि आज मंसिर ४ गतेबाट मात्र निष्कासन गरेको हो ।
कम्पनीले चुक्ता पूँजी १० अर्ब रुपियाँको ३० प्रतिशतले हुन आउने ३ अर्ब रुपियाँको आईपीओ सर्वसाधारणलाई बिक्री गर्न नेपाल धितोपत्र बोर्ड (सेबोन) बाट अनुमति पाएको थियो ।
बिक्री प्रबन्धक एनएमबि क्यापिटलका अनुसार कम्पनीले प्रतिकित्ता १ सय अंकित मूल्यमा १०६ रुपियाँ प्रिमियम थप गरेर रु. २०६ मा आईपीओ जारी गर्न लागेको हो । आईपीओ वैदेशिक रोजगारीमा रहेका नेपालीले मंसिर १९ सम्म आबेदन दिन सक्नेछन l
इच्छुक लगानीकर्ताहरुले न्यूनतम १० कित्तादेखि अधिकतम ३ लाख कित्ताको लागि आवेदन दिन सक्नेछन् । वैदेशिक रोजगारीमा गएकाहरुका लागि शेयर बाँडफाँट गरेपछि सर्वसाधारणका लागि निष्काशन खुला गर्ने कम्पनीले जनाएको छ ।
हिमालयन रि–इन्स्योरेन्स नेपालमा खुलेको दोस्रो पुनर्बीमा हो भने पूर्णरुपमा निजी क्षेत्रको लगानी रहेको पहिलो पुनर्बीमा कम्पनी हो । कम्पनीको संस्थापक सेयरधनीमा नेपालको व्यवसायिक घरानाहरु छन् । सञ्चालक समितिको अध्यक्षमा नेपाल उद्योग वाणिज्य महासंघका निवर्तमान अध्यक्ष शेखर गोल्छा छन् ।