नेपाली इद धमाका-२०२५ भव्य रूपमा सम्पन्न, पल शाह, स्मारिका ढकाल र टंक तिमिल्सिनाको शानदार प्रस्तुति

120 पटक हेरिएको

दोहा, कतार – दोहाको अल लुक्ता स्थित ट्युनिसियन स्कुलको हलमा “नेपाली इद धमाका-२०२५” विशेष साङ्गीतिक कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ। दि गोर्खाज इन्टरटेन्मेन्ट हाउसको आयोजनामा र नेपाली फिट्नेस टिम कतारको सह-आयोजनामा सम्पन्न कार्यक्रमको मुख्य उद्देश्य मानव सेवा आश्रम नेपाललाई सहयोग पुर्‍याउनु रहेको थियो।

कार्यक्रमका सभापति इभेन्ट म्यानेजर राकेश श्रेष्ठ रहेका थिए भने नेपाली राजदूतावास कतारका प्रथम सचिव कृष्ण कुमार सुवेदी प्रमुख अतिथि तथा एनआरएनए एनसीसी कतारका अध्यक्ष रमेश भट्ट विशेष अतिथिको रूपमा उपस्थित थिए।

कोरियोग्राफर तथा नृत्यङ्ग‌ना सृष्टि श्रेष्ठले नेवारी भेषभूषामा सजिएर मौलिक कुमारी स्वागत नृत्य प्रस्तुत गरिन्, जसले कार्यक्रममा मौलिक नेपाली संस्कृति झल्कायो। कार्यक्रममा नेपाली फिटनेस टिमका सल्लाहकार कृष्ण ढकालले स्वागत मन्तव्य राखेका थिए l

कार्यक्रमको मुख्य आकर्षण अभिनेता पल शाह र मोडल तथा नृत्यङ्गना स्मारिका ढकालको जोडी रहेको थियो। उनीहरूले विभिन्न चर्चित नेपाली गीतहरूमा मनमोहक नृत्य प्रस्तुत गरेका थिए, जसले दर्शकदीर्घामा उत्साहको माहोल सिर्जना गर्‍यो। पल शाहको स्टेज प्रवेशसँगै तालीको गडगडाहट सुनियो भने स्मारिका ढकालको नृत्यले समेत दर्शकलाई भरपूर मनोरञ्जन प्रदान गर्‍यो।

साङ्गीतिक माहोललाई अझ जीवन्त बनाउन चर्चित गायक टंक तिमिल्सिनाले झन्डै एक घण्टा स्टेजबाट लगातार आफ्ना लोकप्रिय गीतहरू प्रस्तुत गरे। “स्वर्गकी अप्सरा”, “मनमाया”, “पैसा पैसा चिरिम्म”, “दुई दुना चार” लगायतका हिट गीतहरूले दर्शकलाई नचाउन सफल भए। स्थानीय नेपाली श्रमिक कलाकारहरूको गायन तथा नृत्यले समेत कार्यक्रमलाई थप रौनक प्रदान गर्‍यो।

प्रमुख अतिथि कृष्ण कुमार सुवेदी र विशेष अतिथि रमेश भट्टले मन्तव्य राख्दै कतारमा हुने नेपाली कार्यक्रमहरू लामो भाषणले प्रभावित हुने गरेको तर यस कार्यक्रमले साङ्गीतिक मनोरञ्जनलाई प्राथमिकता दिएकोमा खुसी व्यक्त गरे।

कार्यक्रमको सफलता सुनिश्चित गर्न विभिन्न स्पोन्सरहरू, सहयोगी संस्थाहरू तथा सञ्चारकर्मीहरूलाई सम्मान गरिएको थियो। सभापति राकेश श्रेष्ठले सम्पूर्ण सहयोगी हातहरूलाई धन्यवाद व्यक्त गर्दै मानव सेवा आश्रमका लागि गरिएको सहयोगलाई निरन्तरता दिने प्रतिबद्धता जनाए।

कार्यक्रमको सहज सञ्चालन संयोजक तिलु शर्मा पौडेलले गरेका थिए।

जवाफ छाड्नुस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन।