दोहा, कतार – नेपाली नयाँ वर्ष २०८२ को शुभ अवसरमा कतारको दोहामा बृहत सांस्कृतिक कार्यक्रम “नयाँ वर्ष धमाका” आयोजना हुने भएको छ। धादिङ सेवा समाज कतारको आयोजनामा आगामी अप्रिल ११ तारिख शुक्रबार मुन्ताजा पार्क नजिकैको पियरलिङ सिजनल स्कुल हलमा हुने यो कार्यक्रममा चर्चित लोक गायक मिलन लामासहित स्थानीय कलाकारहरूको साङ्गीतिक प्रस्तुति रहनेछ।
चेपाङ समुदायको सहयोगार्थ आयोजित यस कार्यक्रममा मिलन लामा मुख्य आकर्षणको रूपमा प्रस्तुत हुनेछन्। “हङकङ आइडी ले,” “माझी दाई पोखरा फेवा तालको,” र “कृष्ण भिर्म जाम” जस्ता चर्चित गीतका सर्जक लामाले ४० भन्दा बढी देशमा आफ्नो सांगीतिक प्रतिभा प्रदर्शन गरिसकेका छन्। कतारमा रहेका लोक संगीतप्रेमीहरू उनको प्रस्तुतिको प्रतीक्षामा उत्साहित छन्।
कार्यक्रम संयोजक गौतम तामाङले यो सांस्कृतिक धमाकालाई भव्य बनाउन कतारमा सक्रिय सामाजिक संघसंस्था, समाजसेवी, बुद्धिजीवी, र जिल्लावासीहरूलाई सहभागिताको लागि अपिल गरेका छन्। समाजका अध्यक्ष आयुष घलेले पनि सबैलाई उपस्थित भई नयाँ वर्षको उत्साह साट्न अनुरोध गरेका छन्।

सहभागीहरूको सहजताका लागि कतारका विभिन्न स्थानबाट निःशुल्क यातायातको व्यवस्था गरिएको छ। थप जानकारीका लागि आयोजक समितिका अध्यक्ष आयुष घले (30107068), महासचिव रामहरि श्रेष्ठ (30688282), वा संयोजक गौतम तामाङ (33121644) मा सम्पर्क गर्न सकिनेछ।
सन् २००१ मा “समाज सेवा नै मानवीय प्रमुख धर्म” भन्ने नाराका साथ स्थापना भएको धादिङ सेवा समाज कतारले सामाजिक र रचनात्मक कार्यहरू मार्फत समुदायको हितमा काम गर्दै आएको छ। यो कार्यक्रमले नेपाली संस्कृतिलाई प्रवासमा जीवन्त राख्ने र समुदायबीच एकता कायम गर्ने लक्ष्य राखेको छ।