दोहा, कतार – धादिङ सेवा समाज कतारको आयोजनामा चेपाङ समुदायको सहयोगार्थ गरिएको ‘नयाँ वर्ष धमाका तथा बृहत् सांस्कृतिक कार्यक्रम २०८२’ भव्य रूपमा सम्पन्न भएको छ। करिब दुई दशकपछि कतार आएका चर्चित लोक तथा दोहोरी गायक मिलन लामाको धमाकेदार प्रस्तुति सहित कार्यक्रम सम्पन्न भएको हो l
पियरलिङ सिजनल स्कुल, मुन्ताजाको सभा हलमा आयोजित कार्यक्रममा हजारभन्दा बढी दर्शकको उपस्थिति रहेको थियो। ‘रेशम फिरिरि’ गीतबाट आफ्नो प्रस्तुति थालेका लामाले ‘हङकङ आइडीले’, ‘माझी दाइ’, ‘झल्को लाली ओठको’, ‘तामाङ सेलो’ लगायतका लोक तथा सेलो गीत गाएर माहोल तताए। कोटमाथि ढाका टोपीसहित साजिएको मिलन लामाको पहिरनले नेपाली मौलिकता झल्काएको थियो। कतारको गर्मीका कारण कोट फुकाल्दै उनले “मन भने मेरो नेपाली हो” भन्दै दर्शकको मन जिते।
कार्यक्रम समाजका अध्यक्ष आयुष घलेको अध्यक्षता तथा गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद् (एनआरएनए आईसीसी) का उपाध्यक्ष राज रेग्मीको प्रमुख आतिथ्यमा सम्पन्न भएको हो। कार्यक्रमका सह–संयोजक उषा रिमालले स्वागत मन्तव्य राखेकी थिइन् भने संयोजक गौतम वाइबा तामाङले कार्यक्रमका उद्देश्य र तयारीबारे जानकारी गराएका थिए।
सो अवसरमा कतारमा क्रियाशील विभिन्न समुदायले आफ्ना मौलिक नृत्य प्रस्तुत गरेका थिए। कलाकार रुस्तम तामाङ, युवराज छन्त्याल, रेश्मी सेन्चुरी, शिवराम ढकाल लगायतले एकल तथा युगल गीत प्रस्तुत गरे। नृत्यांगना निरु श्रेष्ठसहितका कलाकारहरूले विभिन्न समूहमा नृत्य गरी दर्शकलाई मनोरञ्जन दिए।
कार्यक्रममा एनआरएनए एनसीसी कतारका अध्यक्ष रमेश भट्ट, विभिन्न वैचारिक, क्षेत्रीय तथा सामुदायिक संघसंस्थाका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो। प्रमुख अतिथि रेग्मीले कार्यक्रमको प्रशंसा गर्दै समाजलाई भविष्यमा पनि आवश्यक सहयोग गर्ने प्रतिबद्धता जनाए।
कार्यक्रमको उत्तरार्धमा मिलन लामाले पुनः स्टेजमा प्रस्तुत भएर ‘हङकङ आइडीले’ गीत दोहोर्याउँदै राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान, नेपाल कतार शाखाका कलाकारहरूसँग प्रत्यक्ष दोहोरी गाएर जमघटलाई झनै जीवन्त बनाए।
कार्यक्रमको सहजीकरण महासचिव रामहरि श्रेष्ठ, पत्रकार शारदा भुजेल र अप्रिल लामाले संयुक्त रूपमा गरेका थिए। समापन मन्तव्य दिँदै सभापति घलेले कार्यक्रमलाई सफल बनाउन सहयोग गर्ने सबै प्रायोजक, सहकर्मी, सुरक्षाकर्मी, स्वयंसेवक, कलाकार र दर्शकप्रति धन्यवाद ज्ञापन गर्दै छिट्टै चेपाङ समुदायलाई सहयोग पु¥याइने जानकारी दिए।