दोहा, कतार l
परदेशमा रहँदा पनि आफ्नै संस्कृति, चाडपर्व र परम्परालाई जगेर्ना गर्ने उदेश्यले कतारमा रमाइलो तीज विशेष सांगीतिक महोत्सव भव्य रुपमा सम्पन्न भएको छ । महिला समाज कतारको आयोजनामा भएको उक्त कार्यक्रममा श्रमिक महिलाको उत्साहपूर्ण सहभागिता देखिएको थियो ।
कार्यक्रम दोहास्थित होलिडे भिल्लाको सभाहलमा सम्पन्न भएको थियो । नेपाली राजदूत महामहिम रमेश चन्द्र पौडेल प्रमुख अतिथि तथा महिला समाज कतारकी अध्यक्ष माया केसी सभाध्यक्ष रहेकी थिइन् ।
नेपालबाट आमन्त्रित चर्चित लोकदोहोरी गायिका रेजिना परियारले ‘कर्मैले परदेश पु¥यायो’, ‘यतिको भएसी चल्छ नेपालमा’, ‘भुल परे दाइ म त’, ‘नाच ओइ बाटुली’ जस्ता लोकप्रिय गीत प्रस्तुत गर्दा सयौँ दर्शक झुम्न बाध्य भए । कतार पहिलो पटक पुगेकी उनले परदेशमा पनि आफ्ना गीतलाई माया र सम्मान दिने दर्शकप्रति आभार व्यक्त गरिन् ।
त्यसैगरी लोकदोहोरी गायिका टीका पुनले ‘क्षितिज वारि मेरो बस्तीमा’ गीतसहित प्रवेश गर्दै कार्यक्रमलाई झन् रौनक बनाइन् । ‘माइतीको देश’, ‘पानी माथि डुंगा’, ‘गैरा बारी’, ‘कर्मैले घुमायो मलाई’ लगायतका दर्जन गीत प्रस्तुत गरेर उनले दर्शकलाई झुमाइन् । अन्तिममा पुन र परियारले संयुक्त रूपमा ‘तिजको लहर आयो बरिलै’ गीत गाएपछि सम्पूर्ण हल उत्साहले गुन्जायमान भयो ।
महामहिम राजदूत पौडेलले सम्बोधन गर्दै “परदेशमा रहँदा पनि नेपालीले आफ्नो संस्कृति, कला र परम्परालाई निरन्तरता दिनु गौरवको कुरा हो” भन्दै आयोजकलाई धन्यवाद दिए । कार्यक्रममा भोजपुर सेवा समाज कतारले महिला समाजलाई तीज विशेष कोसेली पनि प्रदान गरेको थियो ।

महिला समाजकी वरिष्ठ उपाध्यक्ष तथा कार्यक्रम संयोजक सन्ध्या अर्यालले स्वागत मन्तव्य दिएकी थिइन् भने दिया सिंह र प्रज्ञा निउरेले स्वागत नृत्य प्रस्तुत गरेका थिए । महासचिव मेनुका खतिवडा भण्डारी र प्रवक्ता शारदा भुजेलले सहजीकरण गरेको कार्यक्रममा सचेतना सत्र पनि समावेश गरिएको थियो । कतार मानव अधिकार आयोगमा कार्यरत हमिद खान र निशा पराजुलीले श्रमिकसम्बन्धी कानुन र नियमबारे सहभागी महिलालाई २० प्रश्नोत्तरमार्फत जानकारी गराएका थिए ।
सयौँ दर्शक उपस्थित कार्यक्रममा हल खचाखच भरिएको थियो । महिलालाई निःशुल्क प्रवेशको व्यवस्था गरिएकोले उपस्थिति झनै उत्साहजनक बनेको थियो ।तिज कार्यक्रममा कतारमा रहेका एकदर्जन भन्दाबढी कलाकारहरूले गायन, एकल नृत्य तथा सामूहिक नृत्य प्रस्तुति सगैं विविध मनोरञ्जनात्मक प्रस्तुतिहरू पेस गरेका थिए। तमु गुरुङ समाज कतारको मातहतमा रहेको महिला विभागले अध्यक्ष केसीलाई सम्मान गरेको थियो ।

विदेशमा बस्दा नेपाली महिलाले आफ्ना चाडपर्वसँग जोडिने अवसर पाउनु महत्त्वपूर्ण हुने भएकाले यस्ता कार्यक्रम आवश्यक रहेको सहभागीहरूले प्रतिक्रिया दिएका थिए ।
सभाध्यक्ष माया केसीले समापन मन्तव्य दिंदै कार्यक्रम सफल बनाउन सहयोग गर्ने सम्पूर्ण अतिथि, संघसंस्था, दाता, स्पोन्सर, कलाकार तथा दर्शकलाई धन्यवाद दिइन् ।

