बार्सिलोनाको मेट्रोको लाइन १ मा सोमबार आगलागी भएको छ। यसका कारण ३९ जनालाई विभिन्न अस्पतालहरूमा पुर्याइएको छ। धुवाँ फैलिएपछि राहत टोलीले १३७ जनालाई उपचार प्रदान गरेको छ। गम्भीर घाइते भने कोही नभएको जनाइएको छ।
स्थानीय समय अनुसार अपराह्न ५ः४५ बजेतिर आगो सुरु भएको थियो। धुवाँ सडकसम्म पुगेको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको छ। आगलागीपछि सान्ट्स-प्लाका कातालुन्या र ला साग्रेरा-फोन्दो स्टेसनबीचको मार्ग बन्द गरिएको छ। यो बार्सिलोनाको प्रमुख यातायात मार्गमध्ये एक हो। अर्को लाइन २ को एल क्लोट स्टेसन भने यात्रुका लागि खोलिएको छ।
दमकलले राति करिब ८ः०० बजे ओभरहेड लाइनको आगो निभाएको थियो। बार्सिलोना मेट्रो सञ्चालक टिएमबीका कार्यकारी निर्देशक जाभियर फ्लोरेसले प्राविधिकहरूले सुरुङको आवरण भत्किएर पावर केबलमा खसेको प्रारम्भिक अनुमान गरेको बताए। दमकल प्रमुख सेबास्तिया मसागुले धुवाँ प्रभावित सबै सुरुङहरू हावा जारी राखिएको जानकारी दिए।
प्रभावित यात्रुहरूले सास फेर्न गाह्रो भएको बताएका थिए। राहतकर्मीहरूले धेरैलाई अक्सिजन मास्क वितरण गरेका थिए।


