मुख्य सामग्रीमा जानुहोस्

बेत्रावती बाढीका बेपत्ताको शव नभेटेपछि कुशको शव बनाई अन्त्येष्टि गर्न थालियो

धादिङ नीलकण्ठका तीर्थयात्री बेत्रावतीबाट बेपत्ता भएको यतिका दिनसम्म पनि एक जनाको शव मात्र भेटिएको छ। निराश परिवारले कुशको शव बनाएर सामूहिक अन्त्येष्टिको तयारी गरेको छ।

विश्वपत्र संवाददाता

· २ मिनेटको पढाइ

पटक हेरिएकोटिप्पणीशेयर
स्रोत:Online Khabar
बेत्रावती बाढीका बेपत्ताको शव नभेटेपछि कुशको शव बनाई अन्त्येष्टि गर्न थालियो
Online Khabar

रसुवाको बेत्रावती बजारमा गएको बाढीमा बेपत्ता भएका धादिङ नीलकण्ठ नगरपालिकाका तीर्थयात्रीको खोजीमा आफन्त काठमाडौं, चितवन हुँदै पोखरासम्म पुगे पनि अहिलेसम्म एक जनाको शव मात्रै फेला परेको छ। जीवितै भेटिने आस मारिसकेका परिवारले कुशको शव बनाएर अन्त्येष्टि गर्न थालेका छन्।

गोसाइँकुण्ड दर्शनका लागि बस रिजर्भ गरेर हिँडेका नीलकण्ठ–९, १२ र ३ का २६ जना भदौ १० गते बिहान बेत्रावतीबाट बेपत्ता भएका थिए। उनीहरूको खोजीमा आफन्त काठमाडौं, चितवन र नवलपुर हुँदै पोखरासम्म पुगे। तर, यो समूहकी नीलकण्ठ–९ की गायत्री लम्सालको शव मात्र काठमाडौंस्थित शिक्षण अस्पतालमा भेटिएको छ।

गायत्रीका श्रीमान् शिवहरि लम्साल भने अहिलेसम्म बेपत्ता छन्। शिवहरिको शव नभेटिएपछि परिवारले धादिङमा उनको कुशको शव बनाई गायत्रीकै शवसँगै अन्त्येष्टि गरेको पोखरामा रहेका आफन्त गोकर्ण लम्सालले जानकारी दिए। सोही बसका यात्रु नीलकण्ठ–३ का तुलसी र ईश्वरी दम्पतीको पनि कुशको शव बनाएर अन्त्येष्टि गरिएको उनले बताए।

बेपत्ता भएकाहरू एउटै गाउँका भए पनि गाउँको सीमाङ्कनका कारण अहिले फरक–फरक वडामा परेका आफन्त र परिवार गोसाइँकुण्ड जाने क्रममा बाढीमा परेका थिए। यतिका दिनसम्म खोजी गर्दा पनि नभेटिएपछि उनीहरू जीवित रहने सम्भावना नरहेको निष्कर्ष आफन्तले निकालेका छन्।

बेपत्ता हुनेमध्ये एउटै परिवारका सात जनासम्म छन्। कतिपय परिवारका चार जना र कतिपयका श्रीमान्–श्रीमती तथा सन्तानसमेत बेपत्ता भएको आफन्त बलराम लम्सालले बताएका छन्। बेपत्ता भएकाहरूले बाढी आएको समयमा घरमा फोन गरेर आफू एउटा घरभित्र रहेको तर बस बगाइसकेको जानकारी दिएलगत्तै सम्पर्क टुटेको आफन्तको भनाइ छ। सोही बसका चालक, जो सवारीका मालिकसमेत रहेका छन्, पनि बेपत्ता छन्।

सोमबार राति बेत्रावतीको एउटा घरमा २० भन्दा बढी शव फेला परेको थियो। ती शवमध्ये आफन्त पनि हुन सक्ने आशा आफन्तले व्यक्त गरेका छन्। तर, विभिन्न स्थानमा खोजी गर्दा पनि हालसम्म एउटा शव मात्रै पहिचान भएको छ। चितवनपछि पोखरामा मङ्गलबार पहिचान भएकाबाहेकका शव माटोमुनि व्यवस्थापन गर्ने क्रम जारी छ।

आफन्तका अनुसार भदौ १० को घटनालाई हेर्दा १७ गतेसम्म आठ दिन पुग्छ। बेत्रावतीमै फेला परेका शवमा आफन्त हुन सक्ने आशा कायमै रहे पनि नभेटिए बुधबार सबै बेपत्ताको कुशको शव बनाई सामूहिक अन्त्येष्टि गर्ने तयारी छ। भेटिएको एक जनाको शवलाई आधार मानेर बाँकी २५ जनाको कुशको शव बनाई सामूहिक रूपमा अन्त्येष्टि गरिने गोकर्ण लम्सालले बताए।