नासाले आगामी अगस्ट १२ मा हुने पूर्ण सूर्यग्रहणको जानकारी दिएको छ। उक्त दिन पूर्ण सूर्यग्रहण ग्रीनल्यान्ड, आइसल्यान्ड, उत्तरी रुस, एट्लान्टिक महासागर, स्पेन र पोर्चुगलको सानो भूभागमा देखिने नासाले जनाएको छ।
अमेरिकी अन्तरिक्ष एजेन्सीका अनुसार यो ग्रहणको प्रत्यक्ष प्रसारण विभिन्न माध्यमबाट गरिनेछ। प्रसारणमा विज्ञहरूको अन्तर्वार्ता र सामाजिक सञ्जालमा आएका प्रश्नहरूको जवाफ पनि समावेश हुनेछ।
पूर्ण सूर्यग्रहण देखिने क्षेत्र बाहिर पनि उत्तरी गोलार्धका धेरै स्थानमा आंशिक सूर्यग्रहण देखिने छ। यो अलास्कादेखि उत्तर क्यारोलिनासम्मको अमेरिकी भूभाग, अधिकांश क्यानडा, युरोपको ठूलो भाग र उत्तरपश्चिमी अफ्रिकामा देखिने नासाले बताएको छ।
ग्रहणको अवसरमा नासाले विभिन्न वैज्ञानिक प्रयोग पनि गर्ने भएको छ। सूर्यको कोरोनाको अध्ययनका लागि नासा–वित्त पोषित एक टोलीले डब्लुबी–५७ उच्च–उचाइको अनुसन्धान विमानबाट चन्द्रमाको छायाँ पछ्याउने छ।
यसैगरी, राष्ट्रिय सूर्यग्रहण बेलुन परियोजना अन्तर्गत अमेरिकी विश्वविद्यालयका विद्यार्थीहरू आइसल्यान्ड र स्पेन जाने छन्। उनीहरूले ग्रहणअघि, ग्रहणको समयमा र ग्रहणपछि वैज्ञानिक बेलुन प्रक्षेपण गरी अस्थायी अँध्यारोले पृथ्वीको वायुमण्डलमा पार्ने असरबारे अनुसन्धान गर्नेछन्।
