मुख्य सामग्रीमा जानुहोस्

एरियाना ग्रान्डेद्वारा ह्याकरविरुद्ध मुद्दा: चोरी गरिएका ४५ गीत र अन्य सामग्रीको माग

एरियाना ग्रान्डेले आफ्नो रचनात्मक प्रक्रियाको अंश रहेको अप्रकाशित सामग्री चोरी गरी डार्क वेबमा बिक्री गरिएको भन्दै ह्याकरविरुद्ध कानुनी कारबाही अघि बढाएकी छिन्। मुद्दामा सन् २०२३ मा मात्र ४५ गीत चोरी भएको उल्लेख गरिएको…

विश्वपत्र संवाददाता

· १ मिनेटको पढाइ

पटक हेरिएकोटिप्पणीशेयर

ग्रामी अवार्ड विजेता गायिका एरियाना ग्रान्डेले अज्ञात ह्याकरहरूविरुद्ध लस एन्जलसको अदालतमा मुद्दा दायर गरेकी छन्। बिलबोर्डका अनुसार सोमबार दायर गरिएको मुद्दामा उनले ह्याकरहरूले अप्रकाशित संगीत, तस्बिर र भिडियो चोरी गरी ठूलो रकममा डार्क वेबमा बिक्री गरेको आरोप लगाएकी हुन्।

ग्रान्डेले आफ्नो निजी तथा व्यावसायिक सृजनात्मक प्रक्रियाको अंश रहेको र सार्वजनिक उपभोगका लागि नचाहिएको सामग्री चोरी भएको दाबी गरेकी छन्। उनले ह्याकरहरूले आफ्ना फोटोग्राफर र निर्मातालाई लक्षित गरी उक्त सामग्री प्राप्त गरेको आरोप लगाएकी छन्। मुद्दामा गोपनीयता उल्लंघन, क्यालिफोर्नियाको कम्प्युटर ह्याकिङ कानूनको उल्लंघन र सम्पत्ति हिनामिना गरेको आरोप लगाइएको छ।

ग्रान्डेका कानुनी टोलीले ह्याकरहरूको कार्यलाई 'दुर्भावनापूर्ण' र 'घृणित' भन्दै उनको गोपनीयता र करियरमा गम्भीर र अपूरणीय क्षति पु¥याएको बताएका छन्। प्रतिवादीहरूलाई 'जोन डो' नाममा सूचीबद्ध गरिएको छ, तर ग्रान्डेले इन्टरनेट सेवा प्रदायक र अनलाइन प्लेटफर्ममार्फत ह्याकरहरूको पहिचान पत्ता लगाउन अदालतको अनुमति माग्ने सम्भावना छ।

चोरीको लामो इतिहास

मुद्दा अनुसार ग्रान्डे सन् २०११ देखि सयौं पटक यस्तो चोरीको शिकार भइसकेकी छन्। सन् २०१९ मा 'उत्पादनकै क्रममा रहेका' अप्रकाशित मास्टर र डेमो तथा फुटेज चोरी भएका थिए। सन् २०२३ मा मात्र ४५ वटा गीत चोरी भएको मुद्दामा उल्लेख छ। सन् २०२४ मा दुई पटक फिसिङ स्क्याममार्फत उनका अप्रकाशित तस्बिर चोरी भएको दाबी गरिएको छ।

ग्रान्डेको कानुनी टोलीले भनेको छ, 'न त सुश्री ग्रान्डे न कुनै सार्वजनिक वा निजी व्यक्तिले यस्तो उल्लंघन सहनु पर्छ, जहाँ अपराधीहरू अन्धकारमा लुकेर प्रविधिको दुरुपयोग गर्छन्।' उनीहरूले यस्तो आचरणलाई पूर्ण रूपमा निरुत्साहित गर्न आवश्यक रहेको बताएका छन्।

ग्रान्डेको प्रतिक्रिया

सन् २०२४ को फेब्रुअरीमा ज्याक स्याङ शोलाई दिएको अन्तर्वार्तामा ग्रान्डेले आफ्नो चोरी भएको गीत 'फ्यान्टासाइज' बारे बोल्दै ह्याकरहरूलाई चेतावनी दिएकी थिइन्। उनले भनेकी थिइन्, 'ती गीतहरू टिकटकमा छन्, धेरै धन्यवाद। म तिमीलाई जेलमा भेट्नेछु, शाब्दिक रूपमा।' उनले ती गीतहरू टेलिभिजन शोको लागि लेखिएको र आफ्नो लागि नभएको बताएकी थिइन्। अहिले भने ह्याकरहरूले गीत फिर्ता गर्ने समय गुज्रिसकेको देखिन्छ र उनीहरू ग्रान्डेका वकिलहरूको सामना गर्नुपर्नेछ।