थारू समुदायको कला, संस्कृति, परम्परा र पहिचानलाई प्रवर्द्धन गर्ने उद्देश्यले ‘हरेरी सांस्कृतिक साँझ–२०८३’ आयोजना हुने भएको छ। घोंघी स्टेसन प्रालिको आयोजनामा साउन ९ गते शनिबार काठमाडौंको भृकुटीमण्डपस्थित नेपाल पुलिस क्लबमा यो कार्यक्रम हुनेछ। कार्यक्रम दिउँसो २ बजेदेखि राति ९ बजेसम्म सञ्चालन हुनेछ।
कार्यक्रम संयोजक नरेश जोगीका अनुसार ‘आपसी एकता, सांस्कृतिक पहिचान, समृद्ध थारू समाज हाम्रो अभियान’ भन्ने नारासहित यो आयोजना गरिएको हो। यसले थारू समुदायको सांस्कृतिक सम्पदाको संरक्षण, प्रवर्द्धन र नयाँ पुस्तामा हस्तान्तरण गर्ने उद्देश्य राखेको छ।
कार्यक्रममा थारू समुदायका चर्चित गायक–गायिका, नृत्य कलाकार तथा सांस्कृतिक समूहले परम्परागत गीत, नृत्य, वेशभूषा र बाजागाजासहित प्रस्तुति दिनेछन्। साथै लोक, आधुनिक र हास्य विधाका प्रस्तुति पनि समावेश गरिनेछ।
आयोजकका अनुसार कार्यक्रममा विशेष अतिथिका रूपमा नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशमलाल चौधरी सहभागी हुनेछन्। साथै सामाजिक, सांस्कृतिक र राजनीतिक क्षेत्रका अन्य व्यक्तित्वको पनि उपस्थिति रहने अपेक्षा गरिएको छ।
आयोजकले यसलाई मनोरञ्जनात्मक कार्यक्रम मात्र नभई थारू समुदायको भाषा, कला, संस्कृति र पहिचान संरक्षणको अभियानका रूपमा अघि बढाएको जनाएको छ। कार्यक्रमको प्रवेश शुल्क ५०० रुपैयाँ तोकिएको छ।
