रामबाबु गुरुङको निर्देशनमा बनेको नेपाली फिल्म ‘कबड्डी’ शृङ्खलाको पाँचौँ भाग ‘कबड्डी–५’ को ट्रेलर सार्वजनिक भएको छ । पहिलो भागदेखि नै दर्शकको मन जितेको यो शृङ्खलामा पाँचौँ पटक पनि काजीको कथालाई अगाडि बढाइएको छ ।
‘कबड्डी’ पहिलो भाग लेकाली समाजको फरक कथा, फरक परिवेश र फरक पात्रका कारण चर्चित बनेको थियो । विवश मैया र जब्बर काजीको तानाबाना मात्र नभई बिके, सन्त्याल र झाँक्रीजस्ता पात्रले पनि दर्शकलाई सम्मोहित बनाएका थिए । पुरुषोत्तम प्रधानको सिनेम्याटोग्राफी र उपेन्द्र सुब्बाको संवादलाई पनि उत्तिकै चर्चा मिलेको थियो । ‘मन परेको जुत्ता पो जुत्ता, नत्र खाली खुट्टै ठीक’ जस्ता संवाद दर्शकको मुखमा झुन्डिएका थिए ।
रामबाबु गुरुङ, दयाहाङ राई, उपेन्द्र सुब्बा, बुद्धि तामाङ र विजय बराललगायतको जीवनभोगाइ मिसिएर बनेको उक्त भाग व्यावसायिक रूपमा पनि सफल भयो । त्यसपछि शृङ्खलाको लोकप्रियतालाई आधार बनाएर ‘कबड्डी–२’, ‘कबड्डी–३’ र ‘कबड्डी–४’ तयार भए । चौथो भागसम्म आइपुग्दा धेरैले यही अन्तिम भाग हुने ठानेका थिए, तर त्यसो भएन । गुरुङले ‘कबड्डी–५’ बनाए र त्यसको ट्रेलर भर्खरै सार्वजनिक भएको छ ।
काजीको विवाह र नयाँ मोड
शृङ्खलाको केन्द्रमा काजी छन्, जो विवाहको प्रयासमा हत्ते गरिरहेका पात्र हुन् । पहिलो भागमा उनको विवाह जुरेन, दोस्रोमा पनि भएन । अविवाहित काजीलाई लिएरै पाँचौँ भाग बनेको छ । ट्रेलरमा भने उनको विवाह भएजस्तो देखिन्छ, तर उनकै समस्याबाट कथा तन्किइरहेको छ । घरजाम गरिसकेका काजीसँग अब के समस्या हुन सक्छ भन्ने आंशिक झलक ट्रेलरले दिएको छ ।
ट्रेलरमा हराइसकेकी मैयालाई फर्काएर कथामा नयाँ मोड ल्याउने सङ्केत गरिएको छ । यसैगरी विपिन कार्कीलाई पनि यो भागमा प्रवेश गराइएको छ । यसअघि निश्चल बस्नेत र सौगात मल्ललाई जसरी काजीको प्रेमकथामा तगारो बनाइएको थियो, यसपालि पनि सहरी पात्र भित्र्याउने क्रम जारी छ । यो भागमा नयाँ सोल्टिनीको पनि आगमन हुन्छ ।
उही परिवेश, उही बहाव
पाँचौँ भागमा परिवेश र पात्र उही छन् । कथामा खासै उतारचढाव देखिँदैन । ‘कबड्डी’को सबैभन्दा दमदार पक्ष संवाद थियो, तर उपेन्द्र सुब्बा अलग भएपछि हास्यरसयुक्त संवादमा त्यस्तो तोडमोड नरहेको टिप्पणी गरिएको छ ।
यो काजी दाइको लाइफमा धोकाको शृङ्खला कहिल्यै नसकिने भो । — ‘कबड्डी–५’ को ट्रेलरमा बिके
ट्रेलरको सुरुमै बिकेको यो संवादले काजीले यसपालि पनि रित्तो हात बेहोर्नुपर्ने छनक दिन्छ । ट्रेलरमा काजी निकै निराश देखिन्छन् र बेरोजगारीकै कारण आफूले धेरै चोट सहनुपरेको निष्कर्षमा पुग्छन् । त्यसपछि उनी केही न केही उद्यम गर्ने योजनामा लाग्छन् । काजीको अतृप्त प्रेम, विवाहको योजना र त्यसमाथि फेरि अवरोध पैदा गरिने क्रम यस भागमा पनि दोहोरिएको छ ।
अर्थशास्त्री अल्फ्रेड मार्शलको सिद्धान्तअनुसार कुनै वस्तुको उपभोग बढ्दै जाँदा प्रत्येक थप एकाइबाट मिल्ने अतिरिक्त सन्तुष्टि घट्दै जान्छ । खानाको पहिलो गाँसमा पाइने स्वाद अन्तिम गाँसमा नरहनु त्यही हो । शृङ्खलाको कथामा पनि त्यही लय कायम रहेको आकलन गरिएको छ — थाकखोला जस्तै एकोहोरो बहाव, जहाँ न छाल छ न रूप र रङको परिवर्तन ।







