जनकपुरधाम उपमहानगरपालिका–५, जानकी मन्दिर नजिकैको रहिमपथमा बिहीबार साँझ भएको छुरा प्रहारमा एक युवकको ज्यान गएको छ भने अर्का एक युवक गम्भीर घाइते भएका छन् । साँझ करिब सवा ९ बजे भएको उक्त घटनामा जनकपुर सोनारपट्टी, दाहा चोक बस्ने २४ वर्षीय आमिन साफीको मृत्यु भएको र २५ वर्षीय इम्तियाज राइन गम्भीर घाइते भएको धनुषाका प्रहरी प्रवक्ता डीएसपी ओमप्रकाश खनालले जानकारी दिए ।
घाइते राइनको प्रादेशिक अस्पताल जनकपुरमा उपचार भइरहेको छ । दुवै जनाको छाती र पेटमा धारिलो छुरा प्रहार गरिएको प्रहरीले जनाएको छ । स्थानीय २२ वर्षीय मोहम्मद इर्साद खानलाई प्रहरीले पक्राउ गरिसकेको छ ।
यसअघि पनि ज्यान मार्ने उद्योगको आरोप
पक्राउ परेका इर्साद यसअघि नै ज्यान मार्ने उद्योगका अभियुक्त रहेको प्रहरीले जनाएको छ । २०८२ फागुन ३ गते जनकपुरधाम उपमहानगरपालिका–१४ रजौल बस्ने २६ वर्षीय मोहम्मद मुस्तफा राइनमाथि उनले खुकुरी प्रहार गरेका थिए ।
बकर इदको दिन इर्सादले मुस्तफालाई घरमा बोलाएर पसलमा लगी घाँटीमा खुकुरी राखी काट्ने धम्की दिएका थिए । त्यहाँ अन्य युवा पनि उपस्थित थिए । मुस्तफा भाग्न थालेपछि पछाडिबाट लखेट्दै इर्सादले खुकुरी प्रहार गर्दा उनको बायाँ हातमा चोट लागेको थियो ।
इर्सादविरुद्ध मुस्तफाले जिल्ला प्रहरी कार्यालय धनुषामा जाहेरी दिएका थिए र प्रहरीले ज्यान मार्ने उद्योगमा मुद्दा चलाएको थियो । सोही मुद्दामा पक्राउ गर्न धनुषा जिल्ला अदालतबाट गत असार ३१ मै पक्राउ अनुमति पुर्जी लिइसकिएको र जिल्ला प्रहरी कार्यालयले साउन १८ मा जानकी प्रहरी चौकीलाई पत्राचार गरेर उनको खोजी अघि बढाएको प्रहरीले जनाएको छ ।
‘यसअघि नै इर्सादलाई पक्राउ गर्न प्रहरी परिचालन गरिएको, धेरै पटक उनकै घरसम्म प्रहरी पुगेको तर फेला नपरेको मेरो जानकारीमा छ ।’ — डीएसपी ओमप्रकाश खनाल
टिकटकमा विवादास्पद गतिविधि
इर्साद टिकटकर पनि हुन् । टिकटकमा ‘गुण्डा’ नामको र फेसबुकमा ‘एमडी इर्साद खान’ नामको खाता खोलेका उनले अर्को समुदायलाई लक्षित गर्दै घृणा, हिंसा र गालीगलौज गर्ने खालका दर्जनौं भिडियो बनाएको प्रहरीको भनाइ छ । यस्ता सामग्रीले अपराध प्रोत्साहन गरेको भन्दै उनलाई पक्राउ गरी कानुनी कारबाही गर्न पहिलेदेखि नै माग उठ्दै आएको थियो ।
स्थानीयका अनुसार इर्साद लागुऔषध सेवनकर्ता हुन् । बिहीबारको घटनापछि प्रहरीले उनकी आमा ४२ वर्षीया सैमुख खातुनलाई समेत पक्राउ गरी अनुसन्धान अघि बढाएको जनाएको छ ।







