रसुवाको त्रिशूली करिडोरमा गएको बाढीपछि विभिन्न जलविद्युत आयोजनाका सुरुङमा फसेका करिब ६ सय मानिसको उद्धार चार दिन बितिसक्दा पनि सुरु हुन सकेको छैन । गृहमन्त्री सुदन गुरुङ माथिल्लो त्रिशूली ३ ‘ए’ आयोजनामा पुगेर उद्धारमा आफैँ खटिएको प्रचार गरिए पनि यथार्थमा भने एउटा पनि आयोजनाको सुरुङभित्र फसेकाहरूलाई बाहिर निकाल्ने गम्भीर अपरेसन थालिएको छैन ।
६० मेगावाटको माथिल्लो त्रिशूली ३ ‘ए’, २१६ मेगावाटको माथिल्लो त्रिशूली–१, २० मेगावाटको लाङटाङ र २२ मेगावाटको चिलिमेलगायत आयोजनाका भूमिगत सुरुङमा सयौं कामदार तथा कर्मचारी थुनिएका छन् । ती आयोजनाहरूका अनुसार आवश्यक जनशक्ति, विज्ञता, उपकरण र सरकारी तत्परताको अभावले उद्धार अघि बढ्न सकेको छैन ।
गृहमन्त्री गुरुङ पुगेको माथिल्लो त्रिशूली ३ ‘ए’ आयोजनामा भने सुरुङ पत्ता लगाउन करिब २० फिट खन्ने कामबाहेक उद्धारका लागि खासै प्रयास भएको देखिँदैन । नेपाल विद्युत प्राधिकरणका एक अधिकारीले सुरुङमा फसेका मानिसको जीवन बचाउन हरेक मिनेट महत्त्वपूर्ण भए पनि समन्वय गरिरहेका सरकारी अधिकारीहरूले त्यसको गम्भीरता नबुझेको बताए ।
जलविद्युत विज्ञ सूर्यप्रसाद अधिकारीले दुई दिनभित्र उद्धार गरिसक्नुपर्नेमा हालसम्म कुनै ठोस काम नभएको बताए । नेपालसँग सुरुङ उद्धारका लागि चाहिने प्रविधि, उपकरण र सीप नरहेको उल्लेख गर्दै उनले मन्त्रीहरू हेलिकोप्टर चढ्ने र फोटो खिचाउने काममा व्यस्त रहेको टिप्पणी गरे ।
आयोजनागत अवस्था
त्रिशूली करिडोरकै सबैभन्दा ठूलो निर्माणाधीन परियोजना अपर त्रिशूली–१ मा करिब ६ सय जना सम्पर्कविहीन रहेको र तीमध्ये ४ सय सुरुङभित्र फसेको हुनसक्ने अनुमान छ । आयोजना प्रवर्धक नेपाल वाटर एन्ड एनर्जीका प्रमुख कार्यकारी अधिकारी गिरिराज अधिकारीका अनुसार सतहमा बाँच्न सफल २६० जनाको उद्धार भइसकेको छ, जसमा १० जना कोरियाली नागरिक छन् । तर, सुरुङभित्र फसेकाको उद्धार भने सुरु हुन नसकेको उनले बताए । उद्धारका लागि आएको चिनियाँ विज्ञ टोलीले भोलिबाट काम थाल्ने अपेक्षा रहेको अधिकारीले जानकारी दिए । यस आयोजनाको सिभिल निर्माण चाइना रेलवेले गरिरहेको छ ।
गृहमन्त्री गुरुङ पुगेको माथिल्लो त्रिशूली ३ ‘ए’ आयोजनाको सुरुङभित्र ४२ जना कर्मचारी फसेको अनुमान छ । नेपाल विद्युत प्राधिकरणका उपकार्यकारी निर्देशक मदन तिम्सिनाका अनुसार उद्धारका लागि आवश्यक केही सामग्री शुक्रबार मात्र प्रभावित क्षेत्रमा पुगेको हो । दुईवटा एक्स्क्याभेटर प्रयोग गरी दुवै पुरिएका एक्सेस टनेल पत्ता लगाएर भित्र छिर्ने लक्ष्यसहित खन्ने काम भइरहेको उनले बताए । जमिनमुनि रहेको विद्युतगृह सञ्चालनमा रहेको परियोजना बन्द गरी ओभरहलिङको काम भइरहेको पनि उनले जानकारी दिए । सबै सामग्री हेलिकोप्टरबाट लैजानुपर्दा समस्या भएको र नेपाली सेनाले उद्धारमा काम गरिरहेको तिम्सिनाको भनाइ छ ।
लाङटाङ जलविद्युत आयोजनाको सुरुङमा करिब २५ जना फसेको अनुमान छ । प्रवर्धक विजयमान भट्टराईले आयोजनामा कार्यरत ६० जनामध्ये १९ जनाको मात्र उद्धार भएको बताए । सुरुङबाट बाँचेर निस्कनेहरूले पनि भित्र मानिस फसिरहेको जानकारी दिएकाले उद्धारका लागि पटकपटक अनुरोध गरे पनि अधिकारीहरूले भोलि–पर्सि भन्दै आएको उनले गुनासो गरे ।
चिलिमे आयोजनाको सुरुङमा फसेका ६ जना कर्मचारीको समेत उद्धार हुन सकेको छैन । प्रमुख कार्यकारी अधिकृत बाबुराजा महर्जनका अनुसार शनिबार सिम्रिक एयरको हेलिकोप्टरमार्फत पर्वतारोहण उद्धार विज्ञ पठाइए पनि सुरुङभित्र १ सय मिटर जाँदा पूरै थुनिएको देखिएकाले उनीहरू फर्किनुपरेको थियो । त्यसलाई खोल्न विशेष उपकरणसहितको विज्ञ टोली चाहिने जानकारी प्राप्त भएको उनले बताए ।
विदेशी टोली र सरकारी प्रयास
सुरुङबाट उद्धारका लागि सरकारले शनिबार मात्र विदेशी टोलीलाई अनुमति दिने निर्णय गरेको थियो । सोहीअनुसार एउटा चिनियाँ र एउटा भारतीय टोली नेपाल आइपुगेका छन् । तर, आवश्यक समन्वय गर्न नसक्दा ती दुवै टोलीले शनिबार फिल्डमा काम थाल्न नसकेको सम्बन्धित अधिकारीहरूले बताएका छन् ।
यसबीच प्रधानमन्त्री कार्यालयले ६ सदस्यीय चिनियाँ ‘टनेल एक्सपर्ट’ टोलीले माथिल्लो त्रिशूली थ्रीबीमा उद्धार थालेको प्रचार गरेको थियो । सो आयोजनामा ती विज्ञहरू नपुगेको र आयोजनाको सुरुङमा कोही नफसेको आयोजनाले जानकारी दिएको छ । माथिल्लो त्रिशूली ३ बीबाट सम्पर्कविहीन भएका २ सय १ जना सबै सतहमा काम गरिरहेका रहेको आयोजनाको भनाइ छ ।
नेपाल इन्जिनियरिङ एसोसिएसनका अध्यक्ष सवास बरालले सुरुङमा फसेकाको उद्धारमा निकै ढिलाइ भइरहेको बताए । नेपालसँग केही उद्धार क्षमता रहे पनि भित्र फसेकाहरूलाई प्राथमिकतामा राखेर छिमेकी मुलुकबाट साधन ल्याएर भए पनि काम गर्नुपर्ने उनको भनाइ थियो ।
८९८ जना सम्पर्कविहीन
निजी विद्युत उत्पादकहरूको संस्था इप्पानका अनुसार रसुवा बाढीका कारण ११ जलविद्युत आयोजनामा अझै ८९८ जना सम्पर्कविहीन छन् । सबैभन्दा धेरै माथिल्लो त्रिशूली–१ का ५७६ जना सम्पर्कविहीन रहेका छन् । त्यस्तै, माथिल्लो त्रिशूली ३ बीमा २ सय १, लाङटाङ खोलामा ४२, माथिल्लो त्रिशूली ३ एमा ४२, चिलिमेमा ८, मेलुङ खोलामा ७, रसुवा–भोटेकोशीमा ४, मिडल त्रिशूली गंगामा २ तथा त्रिशूली र देवीघाट जलविद्युतमा एक–एक जना बेपत्ता रहेको इप्पानले जनाएको छ ।
इप्पानका अनुसार माथिल्लो त्रिशूली १, ३ ए र ३ बीको सुरुङमा ३ सय जना फसेका छन् । आयोजनाहरूबाट हालसम्म ३६१ जनाको उद्धार भइसकेको छ । जसमध्ये माथिल्लो त्रिशूली १ बाट २५४, त्रिशूली ३ बीबाट ९१ र लाङटाङबाट १८ जनाको उद्धार भएको इप्पानको तथ्यांकमा उल्लेख छ ।







