मुख्य सामग्रीमा जानुहोस्

रुबियो–जेलेन्स्कीबीच ४५ मिनेट टेलिफोन वार्ता, ‘ट्रम्पले युक्रेनलाई हानि पुर्‍याउने निर्देशन दिएका छैनन्’

अमेरिका र युक्रेनबीचको कूटनीतिक तनाव बढिरहेका बेला अमेरिकी विदेशमन्त्री मार्को रुबियोले युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीसँग टेलिफोनमा कुरा गरेका छन्। पेन्टागन वा ह्वाइट हाउसले सहयोग घटाएको भन्ने आरोप उनले…

विश्वपत्र संवाददाता

· २ मिनेटको पढाइ

०पटक हेरिएको०टिप्पणी०शेयर
स्रोत:Online Khabar
रुबियो–जेलेन्स्कीबीच ४५ मिनेट टेलिफोन वार्ता, ‘ट्रम्पले युक्रेनलाई हानि पुर्‍याउने निर्देशन दिएका छैनन्’
Online Khabar

अमेरिकी विदेशमन्त्री मार्को रुबियो र युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीबीच मङ्गलबार ४५ मिनेट लामो टेलिफोन संवाद भएको छ। पछिल्ला दिनमा अमेरिका र युक्रेनबीच बढेको कूटनीतिक तनाव सहज बनाउने प्रयासका रूपमा भएको यो वार्तामा रुबियोले राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेनलाई नोक्सान पुर्‍याउने वा त्यहाँ पुग्ने सहयोग रोक्ने कुनै निर्देशन नदिएको स्पष्ट पारेका छन्।

यो टेलिफोन संवाद नर्वेको राजधानी ओस्लोमा युरोपेली सहयोगीहरू र ह्वाइट हाउसका दूत स्टिभ विटकफबीच हुन लागेको उच्चस्तरीय बैठकभन्दा केही घण्टा अगाडि भएको हो। सो बैठकमा रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसमक्ष पेस गरिने नयाँ शान्ति प्रस्तावबारे छलफल हुने कार्यक्रम छ।

‘कुनै योजनाबद्ध कटौती गरिएको छैन’

सञ्चारकर्मीसँग कुरा गर्दै रुबियोले पेन्टागन वा ह्वाइट हाउसको तर्फबाट युक्रेनलाई उपलब्ध गराइँदै आएको गुप्तचर सूचना, हतियार बिक्री वा स्टारशिल्ड उपग्रह प्रणालीको प्रयोगमा कुनै किसिमको कटौती नगरिएको जानकारी दिए।

नाटो सदस्य राष्ट्रहरूले रकम भुक्तानी गरिसकेका प्याट्रिओट इन्टरसेप्टरहरू युक्रेनसम्म पुग्न ढिलाइ भएको उनले स्वीकार गरे। तर त्यसको कारण युक्रेनलाई सहयोग रोक्नु नभई विश्वभर रहेका अमेरिकी सैन्य आधार शिविरको सुरक्षाका लागि आफ्नै भण्डार सन्तुलनमा राख्नु रहेको उनको भनाइ छ।

यसैगरी, रुसले हालै प्रहार गरेका ब्यालिस्टिक क्षेप्यास्त्रबारे युक्रेनलाई अग्रिम जानकारी नदिनु अमेरिकी निर्देशन नभई प्राविधिक त्रुटि भएको रुबियोको दाबी छ।

राष्ट्रपति ट्रम्पलाई युक्रेनप्रति जानाजान नोक्सान पुर्‍याएको भन्ने झुटो आरोप लागेकाले उनी मर्माहत र आक्रोशित बनेको रुबियोले बताए। दुई वर्षदेखिको प्रयासका बाबजुद शान्ति वार्तामा उल्लेखनीय प्रगति नभएको विषयले पनि ट्रम्पलाई रुष्ट बनाएको उनले जनाए।

‘निसन्देह दुई देशबीच तनाव छ। तर, युक्रेनलाई जानीजानी नोक्सान पुर्‍याउन कुनै राजनीतिक निर्देशन दिइएको छैन। हामी हाम्रा साझेदारप्रतिको दायित्व र आफ्नै आवश्यकताबिच सन्तुलन मिलाइरहेका छौँ।’

जेलेन्स्कीको धन्यवादसँगै आग्रह

टेलिफोन वार्तापछि सामाजिक सञ्जाल एक्समा लेख्दै राष्ट्रपति जेलेन्स्कीले रुबियोको सहयोग गर्ने तत्परता र स्पष्ट दृष्टिकोणका लागि आभार प्रकट गरेका छन्।

तर युक्रेनी नागरिकको सुरक्षाका लागि ब्यालिस्टिक क्षेप्यास्त्र इन्टरसेप्टर र समयमै प्राप्त हुने अग्रिम चेतावनी अनिवार्य रहेको उनले दोहोर्‍याएका छन्। सैन्य अपरेसनमा प्रयोग हुने स्टारलिङ्क र स्टारशिल्ड प्रणालीमा देखिएका अवरोध तुरुन्त हटाएर सेवा पुनः पहिलेकै अवस्थामा फर्काउनुपर्नेमा पनि उनले जोड दिएका छन्।

ओस्लोबाट मस्को जाने तयारी

यसैबीच ह्वाइट हाउसका विशेष दूत स्टिभ विटकफ मङ्गलबार ओस्लो पुगेका छन्, जहाँ उनी र राष्ट्रपति जेलेन्स्कीबीच युरोपेली नेताहरूसँग गहन छलफल भइरहेको छ।

सो बैठकमा नर्वेका प्रधानमन्त्री जोनास गाहर स्टोरे, फिनल्याण्डका राष्ट्रपति अलेक्ज्याण्डर स्टब, ई–४ राष्ट्रहरू (बेलायत, फ्रान्स, जर्मनी र पोल्यान्ड) का प्रतिनिधि तथा युरोपेली युनियन र नाटोका उच्च अधिकारी सहभागी छन्। वार्तामा संलग्न अर्का अमेरिकी दूत जेरेड कुश्नर भने भाइरल इन्फ्लुएन्जाका कारण भर्चुअल रूपमा जोडिएका छन्।

ओस्लोमा युक्रेन र युरोपेली साझेदारहरूसँगको सहमतिमा नयाँ शान्ति प्रस्ताव तयार भएपछि विटकफ मस्को प्रस्थान गर्नेछन्। त्यहाँ उनले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई भेटेर सो प्रस्ताव पेस गर्ने कार्यक्रम रहेको छ।