नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले यो वर्षको विजयादशमी दुःख र विपत्तिका बीच मनाउनुपर्ने अवस्था रहेकाले पीडित परिवारको साथमा उभिन र आफ्नो खुसी बाँड्न सबैसँग आग्रह गरेका छन्। विजयादशमीका अवसरमा शुभकामना सन्देश जारी गर्दै उनले चाडको उत्साहलाई आफ्नै घरआँगनमा मात्र सीमित नराख्न सुझाएका छन्।
यसपटकको दसैँ राष्ट्रिय विपत्ति तथा मानवीय पीडाको संवेदनशील घडीमा आएको उल्लेख गर्दै सभापति थापाले धेरै परिवार कठिनाइको भोगाइबीच रहेको बताएका छन्। त्यस्तो बेलामा अरूको दुःखमा थोरै भए पनि सहयोग गर्ने, आफ्नो खुसी बाँड्ने र एकअर्काको भरोसा बन्ने अवसरका रूपमा चाडलाई लिन उनको आग्रह छ।
विजयादशमीले आफ्ना कमजोरीमाथि विजय हासिल गर्ने आत्मविश्वास, अरूको पीडा बुझ्ने संवेदनशीलता र समाजलाई एकसूत्रमा जोड्ने सद्भावको भावना बलियो बनाउने विश्वास पनि उनले सन्देशमा व्यक्त गरेका छन्।
सन्देशमा उनले स्वदेशमा तथा विदेशमा रहेका सम्पूर्ण नेपालीका लागि सुख, शान्ति, सुस्वास्थ्य र समृद्धिको कामना गर्दै विजयादशमीको शुभकामना दिएका छन्।







