पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी चीनको हपवे प्रदेशको स्योङआनमा आयोजना हुने ‘ग्लोबल गभर्नेन्स् फोरम’मा सहभागी हुन बिहीबार त्यसतर्फ प्रस्थान गरेकी छन्। उक्त सम्मेलन अक्टोबर २३ देखि २५ सम्म चल्ने छ।
‘परिवर्तनशील विश्वमा विश्वास र सहकार्यको पुनर्निर्माण’ भन्ने थिम राखिएको यो फोरममा पूर्वराष्ट्रपति भण्डारी विशिष्ट अतिथिका रूपमा सम्बोधन गर्ने कार्यक्रम रहेको उनको सचिवालयले जनाएको छ।
सम्मेलनका क्रममा अक्टोबर २४ र २५ मा विभिन्न विषयमा समानान्तर सत्र, प्यानल छलफल तथा गोलमेच बैठकहरू आयोजना गरिएका छन्।
फोरममा संयुक्त राष्ट्रसङ्घ केन्द्रित अन्तर्राष्ट्रिय प्रणालीको संरक्षण, विश्व शान्ति र शान्ति स्थापना कार्यमा आवश्यक सुधार, बहुपक्षीयताको प्रवर्द्धन, अन्तर्राष्ट्रिय सम्बन्धमा विकासशील मुलुकको बढ्दो भूमिका र अन्तर्राष्ट्रिय व्यापारमा ‘ग्लोबल साउथ’का मुलुकको भूमिकाजस्ता विषयमा छलफल हुने बताइएको छ।
त्यस्तै जलवायु परिवर्तन र यसको असर, हरित तथा न्यून कार्वन विकास, दिगो विकास, कृत्रिम बौद्धिकता एवं साइबर स्पेससम्बन्धी विषय पनि सम्मेलनको बहसमा समेटिने जनाइएको छ।
पूर्वराष्ट्रपति भण्डारी आगामी सोमबार स्वदेश फर्कने कार्यक्रम रहेको सचिवालयले जानकारी दिएको छ।







