नुवाकोटको माथिल्लो त्रिशूली ३ 'ए' जलविद्युत आयोजनाको सुरुङमा फसेकाहरूलाई निकाल्न नेपाली सेनाका इन्जिनियरहरूले विष्फोट गरी प्रवेश मार्ग फराकिलो बनाउने तयारी थालेका छन्। उद्धारको प्रयासलाई तीव्र पार्न भारी उपकरणसमेत परिचालन गरिएको छ।
प्रधानमन्त्रीका प्रेस तथा अनुसन्धान विज्ञ दीपा दाहालका अनुसार उद्धार टोली अपराह्न करिब २ बजे सुरुङको मुख्य भाग 'क्राउन हेड'मा पुगेको थियो। टोलीले त्यहाँ २×३ फिटको खुला स्थान बनाएर डोरीको सहायतामा भित्र प्रवेश गर्ने प्रयास गरेको थियो।
प्वालबाट भित्र पुगेको टोलीले आवाज दिएर सम्पर्क खोज्दा कुनै प्रतिक्रिया प्राप्त भएन। त्यसपछि सुरुङको पहुँच मार्ग फराकिलो बनाउने क्रममा भारी उपकरण परिचालन गर्नुका साथै विष्फोटको तयारीसमेत गरिएको हो।
घटनास्थलमा ९० सदस्यीय संयुक्त टोली परिचालन गरिएको छ। जसमा नेपाली सेनाका ६६ जना, प्रशिक्षित खोज तथा उद्धार कुकुरसहित सशस्त्र प्रहरी बलका १८ जना र नेपाल प्रहरीका ६ जना रहेका छन्।
दाहालका अनुसार जोखिमपूर्ण अवस्थाका बाबजुद उद्धार कार्य चौबिसै घण्टा निरन्तर रूपमा सञ्चालन भइरहेको छ।







