काठमाडौं, १४ भदौ । भदौ १० गतेको बाढीपहिरोबाट अति प्रभावित रसुवा र नुवाकोटका स्थानीय तहका प्रमुखहरूले रास्वपा सभापति रवि लामिछानेसँगको कुराकानीमा सरकारी निकायको समन्वय प्रभावकारी नभएको गुनासो गरेका छन्। लामिछानेले आज उनीहरूसँग टेलिफोन संवाद गर्दै क्षतिको विवरण तथा उद्धार र राहतको अवस्थाबारे जानकारी लिएका हुन्।
केन्द्रीय तहका नेताहरूसमेत सहभागी भएको संवादमा पालिका प्रमुखहरूले आफ्नो क्षेत्रका जरुरी समस्या राखे। सडक सञ्जाल, शव व्यवस्थापन, विद्युत आपूर्ति, ग्यास र अस्थायी आवासका विषयमा उनीहरूको चासो केन्द्रित थियो।
गोसाइकुँड गाउँपालिकाका अध्यक्ष कैसाङ नुर्पु तामाङले रसुवालाई मूल सडकसँग जोड्ने क्षतिग्रस्त बाटो मर्मतमा पहल गर्नुपर्ने बताए। शव व्यवस्थापनका लागि चाहिने सामग्री अभाव भएको र विद्युत आपूर्तिको वैकल्पिक व्यवस्था गर्नुपर्ने उनको भनाइ थियो।
आमाछोदिङमो गाउँपालिकाका अध्यक्ष बुचुङ तामाङले जलविद्युत आयोजनाको सुरुङभित्र फसेका व्यक्तिको उद्धारका लागि थप उपाय अपनाउनुपर्ने बताए। थोरै भए पनि जेनेरेटरबाट विद्युत आपूर्तिलाई निरन्तरता दिनुपर्ने उनले औंल्याए।
कालिका गाउँपालिकाका अध्यक्ष हरिकृष्ण देवकोटाले बाटो तत्काल जोड्नुपर्ने, खाना पकाउन ग्यास नपुगेकाले एक हजार सिलिन्डर व्यवस्थापन गर्नुपर्ने र विद्युत प्राधिकरणले खम्बा गाड्ने तथा तार तान्ने काम सुरु गर्नुपर्ने माग राखे। प्रमुख जिल्ला अधिकारी र प्रहरी प्रमुखको कार्यसम्पादन प्रभावकारी नरहेको उनको गुनासो थियो।
उत्तरगया गाउँपालिकाका अध्यक्ष माधव प्रसाद अर्यालले शव व्यवस्थापनलाई सबैभन्दा गम्भीर समस्याका रूपमा उठाए। उद्धारमा खटिएका सुरक्षाकर्मीले नियमित जनसुरक्षाका काम गर्न नसक्दा थप सुरक्षाकर्मी खटाउनुपर्ने उनको माग थियो।
बेलकोटगढी गाउँपालिकाका अध्यक्ष जगत बहादुर गुरुङले वैकल्पिक बाटो खुलाउनुपर्ने र विस्थापितहरूका लागि अस्थायी आवासको व्यवस्था गर्नुपर्ने बताए। प्रमुख जिल्ला अधिकारीसँग सहज समन्वय हुन नसकेको उनको भनाइ छ।
धादिङको गजुरी गाउँपालिकाका अध्यक्षले कम्तीमा १०० टेन्ट अहिले नै आवश्यक रहेको भन्दै वैकल्पिक आवासको व्यवस्था तत्काल गर्नुपर्ने बताए।
सबै पालिका प्रमुखका समस्या र सुझाव सुनेपछि लामिछानेले नेपाल सरकार र सम्बन्धित निकायसँग तत्काल छलफल गरेर समाधानको पहल गर्ने प्रतिबद्धता जनाए। विभिन्न मन्त्रीहरूसँग तत्कालै समन्वय थाल्ने उनले बताए।







