राष्ट्रपति रामचन्द्र पौडेलले रसुवाको भोटेकोशी नदीमा आएको बाढीपहिरोबाट प्रभावित नागरिकका लागि खोज, उद्धार र राहतको काममा राज्यका सम्पूर्ण संयन्त्र परिचालन गर्न प्रधानमन्त्री वालेन्द्र शाहलाई आग्रह गरेका छन् ।
राष्ट्रपति पौडेलले आज साँझ प्रधानमन्त्री शाहसँग टेलिफोनमा कुराकानी गर्दै रसुवाको बाढीपहिरोबाट भएको जनधनको क्षतिबारे जानकारी लिएका हुन् । सो क्रममा उनले पीडामा परेका नागरिकको उद्धार, राहत र खोज कार्यलाई तीव्रता दिन राज्यका सबै अंग परिचालन गर्न आग्रह गरेको राष्ट्रपति पौडेलका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिएका छन् ।
टेलिफोन कुराकानीमा प्रधानमन्त्री शाहले रसुवामा आएको बाढीले पुर्याएको जनधनको क्षतिबारे राष्ट्रपतिलाई जानकारी गराएका थिए । उनले उद्धार, राहत र सहयोगका लागि सरकारले राज्यका सबै संयन्त्र परिचालन गरिसकेको र हरसम्भव सहयोग जुटाउन कुनै कमी नहुने बताए । राष्ट्रपतिको सचिवालयद्वारा जारी प्रेस नोटमा यी कुरा उल्लेख गरिएको छ ।
रसुवा र नुवाकोट हुँदै बग्ने भोटेकोशी नदीमा आज बिहान अचानक आएको बाढीबाट भएको धनजनको क्षतिको खबरले आफूलाई अत्यन्त दुःखी बनाएको राष्ट्रपति पौडेलले बताएका छन् । विपद्को यस घडीमा उद्धार र राहतको कामलाई तीव्रता दिन उनले सरकार, राजनीतिक दल, सामाजिक संघसंस्था, सुरक्षा निकाय र आम नागरिकलाई आह्वानसमेत गरेका छन् ।







