जनकपुरधाम, ६ भदौ । जनकपुरधामका सात सार्वजनिक पोखरीको अतिक्रमण शनिबार हटाइएको छ। गुठी जग्गा संरक्षण तथा अतिक्रमण हटाउने कार्यान्वयन समितिले पोखरीका डिलमा अतिक्रमण गरेर बनाइएका ६५ घरटहरा डोजर प्रयोग गरी भत्काएको हो।
अतिक्रमणमुक्त गराइएका पोखरीमा गिरनारी (गोरधोइ) पोखरी, दिर्घीका सर, मुरली सर, रत्नसागर, अर्गजा सर, दशरथ तलाउ र विसहरा तलाउ छन्। यी सबै पोखरीको डिलमा गरिएको अतिक्रमण खाली गराउन डोजरसँगै बाक्लो संख्यामा सुरक्षाकर्मी पनि परिचालन गरिएको थियो।
समितिका सदस्य सचिव जनक पोखरेलका अनुसार अतिक्रमण गरेर बनाइएका ६५ घरटहरा ध्वस्त पारिएका हुन्। उनका अनुसार साउन १ गते नै अतिक्रमित स्थान खाली गर्न सूचना जारी गरिएको थियो।
अबको चरणमा अतिक्रमणमुक्त गरिने पोखरीको रेखांकन गरिने र त्यसपछि योजना बनाएर खाली गराइने समितिले जनाएको छ। पहिलो चरणमा पहिचान गरिएका ५० पोखरी अतिक्रमणमुक्त गराउने लक्ष्य राखिएको छ। कार्ययोजनाअनुसार पहिलो चरणमा पोखरी र मन्दिर परिसर तथा तेस्रो चरणमा अन्य अतिक्रमण हटाउने गरी वर्गीकरण गरिएको छ।
अतिक्रमण हटाउने क्रममा २०६२ सालमा जनकपुरको गुठीको अतिक्रमित जग्गा पत्ता लगाउन गठन गरिएको भोजराज घिमिरे नेतृत्वको कार्यदलको प्रतिवेदनलाई आधार मानिएको छ।







