भदौ १०, काठमाडौं । भोटेकोशी नदीमा आज आएको बाढीका कारण रसुवा र नुवाकोट जिल्लामा अवस्थित जलविद्युत् आयोजनाहरूमा कार्यरत एक सय ९० जना कर्मचारी सम्पर्कविहीन भएका छन्। नेपाल विद्युत् प्राधिकरणले अद्यावधिक गरेको विवरणअनुसार ती कामदारहरू विभिन्न आयोजना, पावर हाउस र निर्माणस्थलबाट सम्पर्क बाहिर रहेका हुन्।
प्राधिकरणका अनुसार रसुवागढी जलविद्युत् केन्द्रमा कार्यरत ९२ जना सम्पर्कविहीन छन्। त्रिशूली ३ए जलविद्युत् केन्द्रको पावर हाउस मर्मत कार्यमा संलग्न ४५ कर्मचारी पनि सम्पर्कविहीन रहेको बताइएको छ।
त्रिशूली जलविद्युत् कम्पनीको निर्माणाधीन त्रिशूली ३ बी साइटमा कार्यरत २१ कर्मचारी सम्पर्कविहीन छन्। चिलिमे जलविद्युत् केन्द्रको पावर प्लान्ट क्षेत्रका ६ जना र आवास क्षेत्र आसपासका १ जना गरी ७ जना बेपत्ता भएको प्राधिकरणले जनाएको छ।
त्यस्तै, त्रिशूली २२० केभी ३बी सबस्टेसनमा ठेकेदारका तर्फबाट कार्यरत १६ कामदार समेत सम्पर्कविहीन रहेको तथ्यांक छ। प्राधिकरणको त्रिशूली जलविद्युत् केन्द्र र देवीघाट जलविद्युत् केन्द्रमा कार्यरत एक/एक कर्मचारी पनि सम्पर्क बाहिर रहेको विवरणमा उल्लेख छ।
यसैगरी, चिलिमे पावर हाउसको स्विचयार्डमा काम गर्ने एक कर्मचारी र एक मिटर रिडरसमेत सम्पर्कविहीन रहेको प्राधिकरणको तथ्यांकमा छ।







