भोटेकोशी बाढीका कारण रसुवामा परेको असरपछि भारत सरकारको तर्फबाट भएको सहानुभूति र सहयोगप्रति प्रधानमन्त्री वालेन्द्र शाहले आभार व्यक्त गरेका छन्। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले फोनमार्फत बाढी प्रभावितप्रति समवेदना जनाएपछि प्रधानमन्त्री शाहले बुधबार सामाजिक सञ्जालमार्फत धन्यवाद दिएका हुन्।
नेपालको कठिन घडीमा भारत सरकारले देखाएको ऐक्यबद्धता र पुर्याएको सहयोगप्रति प्रधानमन्त्री शाहको आभार रहेको उनको सामाजिक सञ्जाल सन्देशमा उल्लेख छ। उनले यो सहयोग र सद्भावलाई दुई देशबीचको लामो मित्रताको जीवन्त प्रतीकका रूपमा लिएका छन्।
यसअघि भारतीय प्रधानमन्त्री मोदीले प्रधानमन्त्री शाहसँग फोनमा कुराकानी गर्दै बाढीले पुर्याएको जनधनको क्षतिप्रति गहिरो समवेदना व्यक्त गरेका थिए। सामाजिक सञ्जालमार्फत उनले कठिन समयमा भारतका जनता नेपाली जनतासँग ऐक्यबद्ध रहेको बताएका थिए।
मोदीले यथाशक्य मानवीय सहायता नेपाललाई उपलब्ध गराउन भारत तयार रहेको बताएका छन्। साथै उद्धार तथा राहत कार्यका लागि भारतीय टोलीले नेपालसँग नजिकबाट समन्वय गरिरहेको उनले जानकारी गराएका छन्।







