भोटेकोशी बाढीका कारण प्रभावित क्षेत्रका ५३ झोलुङ्गे पुलमा क्षति पुगेको छ। स्थानीय पूर्वाधार विकास विभागका महानिर्देशक अशोककुमार साहले मंगलबार पत्रकार सम्मेलनमा सार्वजनिक गरेको जानकारीअनुसार तीमध्ये ३३ पुल पूर्ण रूपमा बगेका छन् भने २० पुल सामान्य मर्मतपछि सञ्चालनमा ल्याउन सकिने अवस्थामा छन्।
महानिर्देशक साहले क्षतिग्रस्त ३३ पुलको पुनर्निर्माण गर्नुपर्ने र बाँकी २० पुलको मर्मत तत्काल अघि बढाइने बताए। पुल बगेपछि अवरुद्ध भएको आवागमनलाई सहज बनाउन विभागले पाँच स्थानमा अस्थायी तुइन जडान गर्ने काम थालेको छ।
त्रिशूली नदी किनारको बिदुर नगरपालिका–१ इन्द्रायणी चौरमा २५५ मिटर लामो तुइन सोमबारदेखि नै चालू भइसकेको छ। बेलकोटगढीको देवीघाटमा १८० मिटर लामो तुइन मंगलबारदेखि सञ्चालनमा ल्याउने तयारी रहेको छ। बेत्रावतीमा र रसुवाका दुई स्थानमा गरी थप तीन स्थानमा बुधबारदेखि तुइन जडान सुरु गरिने विभागले जनाएको छ।
सामान्य क्षति भएका २० पुलमध्ये गल्छीभन्दा माथिल्लो क्षेत्रका ९ पुलको मर्मत बुधबारदेखि सुरु हुनेछ। मर्मतका लागि आवश्यक पाटा (डेग) बजारबाट खरिद गरेर काम अघि बढाइने विभागको भनाइ छ। यी पुल २० देखि २५ दिनभित्र सञ्चालनमा ल्याउने लक्ष्य राखिएको छ।
पूर्ण रूपमा क्षतिग्रस्त ३३ पुलको पुनर्निर्माणमा भने समय लाग्ने देखिएको छ। पुनर्निर्माणका लागि चाहिने स्टिल वायर रोप (लठ्ठा) मौज्दातमा नरहेको र भारतबाट आयात गर्नुपर्ने भएकाले अन्तर्राष्ट्रिय बोलपत्र प्रक्रिया अपनाउनुपर्ने महानिर्देशक साहले बताए। सार्वजनिक खरिद अनुगमन कार्यालयको प्रणालीमा प्राविधिक समस्या आएकाले बोलपत्र हार्ड कपीमार्फत गर्नुपर्ने बाध्यताले ढिलाइ हुनसक्ने उनको भनाइ छ।
विभागले पूर्वाधार पुनर्स्थापनाको प्रारम्भिक लागत अनुमान पनि सार्वजनिक गरेको छ। झोलुङ्गे पुल मर्मतमा १५ करोड रुपैयाँ, पुनर्निर्माणमा ६० करोड रुपैयाँ र अवरुद्ध ग्रामीण सडक तथा वैकल्पिक मार्ग खुलाउन ४० करोड रुपैयाँ खर्च हुने अनुमान गरिएको छ।
मुख्य राष्ट्रिय राजमार्गको तुलनामा ग्रामीण सडकमा कम क्षति भए पनि स्थानीय पहुँच सुचारु राख्न विभाग केन्द्रित रहेको साहले बताए। मर्मत सम्भव भएका पुल यथाशीघ्र चालू गरेर स्थानीयलाई राहत दिने योजना विभागको छ।







