रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीमा ज्यान गुमाउनेमध्ये करिब साढे दुई सय जनाको डीएनए आफन्तको नमुनासँग प्रारम्भिक रूपमा मिल्ने देखिएको छ । तर यो संख्या अन्तिम नभएकाले पहिचान यकिन गर्ने र शव हस्तान्तरणको प्रक्रिया अघि बढाउने काममा थप जाँच आवश्यक रहेको अधिकारीहरू बताउँछन् ।
राष्ट्रिय विधि विज्ञान प्रयोगशालाको डीएनए शाखा प्रमुख निराजन थापाका अनुसार नेपाल प्रहरी र प्रयोगशालामा भएका परीक्षणको एकीकृत तथ्यांकले यस्तो संकेत देखाएको हो । सफ्टवेयरमार्फत स्क्रिनिङ गर्दा साढे दुई सयजतिको डीएनए मिल्ने देखिए पनि यसलाई अन्तिम निष्कर्षका रूपमा लिन नमिल्ने उनको भनाइ छ ।
एउटै व्यक्तिको शरीरका दुई–तीन टुक्रा फरक–फरक स्थानमा भेटिएपछि छुट्टाछुट्टै नमुनाका रूपमा परीक्षण भएको हुनसक्ने थापाले बताए । फाइलअनुसार विवरण भिडाएपछि मात्र वास्तविक संख्या यकिन हुने उनको भनाइ छ ।
पछिल्लो तथ्यांकअनुसार बाढीमा १ हजार ४५७ शव फेला परेका छन् । तीमध्ये ११२ को सनाखत गरी आफन्तलाई बुझाइएको छ भने पहिचान हुन नसकेका १ हजार ३४५ शव जमिनमुनि गाडिएका छन् । बाढीमा हराएका व्यक्तिको संख्या पाँच हजारभन्दा बढी छ ।
पहिचानका लागि एकीकृत विधि
विपद्मा मृत्यु भएकाको पहिचानका लागि डीएनए परीक्षण मात्र पर्याप्त मानिँदैन । दन्त परीक्षणको अभिलेख, औँठाछाप, पोस्टमार्टममा फोरेन्सिक चिकित्सकले उल्लेख गरेका विवरण र डीएनए परीक्षणको नतिजा एकीकृत रूपमा विश्लेषण गर्नुपर्ने हुन्छ ।
यही कामका लागि विपद् व्यवस्थापनअन्तर्गत विपद्पीडित पहिचान टोली अर्थात् डिजास्टर भिक्टिम आइडेन्टिफिकेसन (डीभीआई) गठन गरिएको छ । फरेन्सिक चिकित्सकको नेतृत्वमा रहेको उक्त टोलीले विभिन्न स्रोतबाट प्राप्त विवरण भिडाएर मृतकको पहिचान यकिन गर्नेछ ।
पहिचान पुष्टि भएपछि डीभीआईले मृत्यु प्रमाणपत्र जारी गर्ने र शव परिवारलाई हस्तान्तरण गर्ने प्रक्रिया अघि बढ्नेछ । प्रयोगशालाको प्रतिवेदन, पोस्टमार्टम विवरणलगायत प्रमाण टोलीले एकै ठाउँमा मिलाएपछि मात्र शव हस्तान्तरण हुनेछ ।
हाल डीएनए जोडाइ पहिलो तहका नातेदार — बाबु–छोरा, आमा–छोरी वा आमा–छोरा — का आधारमा भइरहेको छ । आवश्यकता परे दाजुभाइ तथा दिदीबहिनीबीचको नाता भिडाएर थप परीक्षण गर्नुपर्ने थापाले बताए । त्यसपछि चरणबद्ध रूपमा डीएनए म्याचिङ हुने उनको भनाइ छ ।
यसका लागि ‘कम्बाइन्ड डीएनए इन्डेक्स सिस्टम (कोडिस)’ सफ्टवेयर प्रयोग भइरहेको छ । अमेरिकाको एफबीआईले अपराध अनुसन्धानमा व्यक्तिको पहिचान तथा फेमिलियल सर्चिङका लागि यही प्रणाली प्रयोग गर्दै आएको थापाले जानकारी दिए । बेपत्ताका आफन्तबाट संकलित नमुना एउटा डेटाबेसमा र शवबाट प्राप्त नमुना अर्को डेटाबेसमा राखिन्छ । सफ्टवेयरले सम्भावित सम्बन्धको गणना गरेपछि विज्ञहरूले सांख्यिकीय विश्लेषण गरी पहिचान टुंग्याउनेछन् ।
आफन्तको नमुना आधाभन्दा कम
हराएका व्यक्तिको संख्याको तुलनामा परीक्षणका लागि संकलन भएको आफन्तको रगतको नमुना आधाभन्दा कम छ । पाँच हजारभन्दा बढी हराएको अनुमान गरिए पनि करिब दुई हजार आफन्तले मात्र रगतको नमुना उपलब्ध गराएका छन् ।
शव नभेटिएपछि कतिपय परिवारले आफ्नै तरिकाले दाहसंस्कार गरिसकेकाले ती परिवार पुनः नमुना दिन नआएको थापाको भनाइ छ । सबै शव पूर्ण अवस्थामा नभेटिएकाले एउटै व्यक्तिका शरीरका विभिन्न भाग छुट्टाछुट्टै नमुनाका रूपमा परीक्षण भएको हुनसक्ने सम्भावना पनि उनले औँल्याए । शव र आफन्तको नमुना संख्या बराबर नभएकाले अहिलेको परीक्षणबाट सबै हराएकाको पहिचान खुल्ने अवस्था नरहेको उनको भनाइ छ ।
औँठाछाप पनि संकलन
डीएनए परीक्षणसँगै अन्य पहिचानका प्रमाण पनि जुटाइँदै छ । नेपाल प्रहरीका प्रवक्ता अबिनारायण काफ्लेका अनुसार शवबाट करिब ३०० को हाराहारीमा औँठाछाप लिइएको छ । ती औँठाछापलाई मृतकले जीवित छँदा विभिन्न निकायमा उपलब्ध गराएको विवरणसँग मिलाउने प्रयास भइरहेको छ ।
नेपाली नागरिकको हकमा राष्ट्रिय परिचयपत्रलगायत निकायमा रहेको औँठाछाप तथा विदेशी नागरिकको हकमा अध्यागमनमा संकलित औँठाछापसँग तुलना गरिँदै छ । तर हालसम्म औँठाछापका आधारमा कुनै शवको पहिचान हुन सकेको छैन ।
औँठाछाप मिलेको अवस्थामा डीएनए परीक्षणबाट पहिचान पुष्टि गर्ने प्रक्रियालाई सहयोग पुग्ने काफ्ले बताउँछन् । नतिजा नआएकाले अहिले शव पहिचानका लागि डीएनए परीक्षण र अन्तिम म्याचिङलाई नै मुख्य आधार बनाइएको छ । डीएनए, औँठाछाप, दन्त परीक्षण र पोस्टमार्टमबाट प्राप्त विवरण एकै ठाउँमा राखेर विश्लेषण गरेपछि मात्र मृतकको पहिचान यकिन गर्ने प्रक्रिया अघि बढाइने उनले जानकारी दिए ।







