बाँकेको जानकी गाउँपालिका–५ बकसपुरस्थित अम्बे स्टिल सरिया कम्पनीभित्र रहेको फर्नेस आयल ट्यांकीमा आगलागी हुँदा करिब १ करोड ५६ लाख रुपैयाँ बराबरको क्षति भएको छ। इलाका प्रहरी कार्यालय खजुरा खुर्दका अनुसार आगलागी लाइन सर्ट सर्किटका कारण भएको हो।
कम्पनी परिसरभित्र राखिएको सो ट्यांकीमा २ लाख लिटर फर्नेस आयल राख्न सकिन्छ। फलाम इन्जिन सञ्चालनमा प्रयोग हुने यस्तो तेल भण्डारण गरिएको ट्यांकीमा आगो सल्किएपछि ठूलो परिमाणमा क्षति भएको प्रहरीले जनाएको छ।
आगलागी नियन्त्रणका लागि नेपाल प्रहरी, स्थानीयवासी र दमकल परिचालन गरिएको थियो। बिहीबार राति २ः३० बजे आगो पूर्ण रूपमा नियन्त्रणमा लिइएको इलाका प्रहरी कार्यालय खजुरा खुर्दले जानकारी दिएको छ।
घटनामा कुनै मानवीय क्षति भने भएको छैन। आगलागीको कारण र क्षतिको विस्तृत विवरणबारे थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ।







