दसैँ पर्वका अवसरमा काठमाडौं उपत्यकामा नेपाल प्रहरी र सशस्त्र प्रहरी बलले सञ्चालन गरेको निःशुल्क बस सेवाबाट तीन हजार ५८५ यात्रुले लाभ लिएका छन्। दसैँको समयमा सार्वजनिक सवारीसाधन पाउनै गाह्रो हुने भएकाले यात्रुको आवतजावत सहज बनाउन यो सेवा सञ्चालन गरिएको हो।
प्रहरी प्रधान कार्यालयका अनुसार नेपाल प्रहरीले तीनवटा सवारीसाधनमार्फत यो सेवा दिएको छ। ती बसमध्ये कात्तिक ३ गते ५१० जनाले र कात्तिक ४ गते ८९६ जनाले निःशुल्क यात्रा गरे। यी दुई दिनमा गरी एक हजार ४०६ यात्रुले प्रहरीको निःशुल्क बस सेवा उपयोग गरेका हुन्।
यसैगरी सशस्त्र प्रहरी बलले सञ्चालन गरेका दुई बसले अष्टमी, नवमी र दशमीका दिन काठमाडौं उपत्यकाभित्र दुई हजार १७९ यात्रुलाई निःशुल्क सवारी सुविधा दिएको सशस्त्र प्रहरीका सहप्रवक्ता शैलेन्द्र थापाले जानकारी दिए।
चाडबाडका बेला उपत्यकामा सार्वजनिक यातायातका साधन कम हुने र यात्रुहरूले लामो समय कुर्नुपर्ने अवस्था आउने गरेको छ। त्यस्तो अवस्थामा दुवै प्रहरी संगठनले आ–आफ्ना बस खटाएर यात्रुको चाप व्यवस्थापनमा सहयोग पुर्याएका छन्।







