जल तथा मौसम विज्ञान विभागले सामाजिक सञ्जालमा फैलिएका लामो समय वर्षा हुने सम्बन्धी दाबीहरूप्रति आमनागरिकलाई नआत्तिन आग्रह गरेको छ। आगामी मंगलबारदेखि देशका केही भागमा वर्षा हुनसक्ने सम्भावना रहे पनि वर्षा हुने स्थान, त्यसको तीव्रता र अवधिबारे भने अनिश्चितता कायमै रहेको विभागले जनाएको छ।
विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाका मौसमविद् राजन महर्जनका अनुसार एक हप्तासम्म वर्षा हुने भन्ने विवरण सामाजिक सञ्जालमा चर्को रूपमा चलेको छ, जसले विशेषगरी किसानहरूमा चिन्ता बढाएको छ। तर त्यस्तो कुनै पूर्वानुमान आधिकारिक रूपमा पुष्टि भइनसकेको उनले स्पष्ट पारे।
मौसमविद् महर्जनले भने, "हल्लाको पछि नलाग्न र अनावश्यक रूपमा नआत्तिन अनुरोध गर्दछु।" नेपालमा गरिने मौसम पूर्वानुमान तीन दिनसम्मको हकमा तुलनात्मक रूपमा बढी भरपर्दो हुने र एक हप्ताको हकमा त्यति विश्वसनीय नहुने उनको भनाइ छ।
मौसम प्रणाली थप स्पष्ट हुँदै गएपछि आगामी साता वर्षा हुने सम्भावनाबारे विभागले थप जानकारी सार्वजनिक गर्नेछ। विभागले सामाजिक सञ्जालमा आएका अप्रमाणित सामग्रीको सट्टा आफ्ना आधिकारिक अपडेटलाई आधार मान्न पनि सबैमा अनुरोध गरेको छ।







