म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा आज मिस्त्रीखोलाले बगाउँदा एक बालिकाको ज्यान गएको छ भने अर्की एक बालिका बेपत्ता भएकी छन् ।
जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रहरी निरीक्षक भूपेन्द्र गोतामेका अनुसार नारच्याङकी छ वर्षीया अनिशा बुढामगरको मृत्यु भएको हो । उनको शव फेला परेको छ । सोही ठाउँकी तीन वर्षीया कृष्टिका बुढामगरको भने अहिलेसम्म कुनै अत्तोपत्तो छैन र उनको खोजी भइरहेको छ ।
दाउरा खोज्न गएका अभिभावकको पछि लागेर बालिकाहरू पनि खोलातर्फ गएका थिए । त्यही क्रममा उनीहरूलाई पानीले बगाएको प्रहरी निरीक्षक गोतामेले बताए । मृतक र बेपत्ता दुवै जना दुई बहिनीका छोरी हुन् ।
घटनाको जानकारी पाउनासाथ सशस्त्र प्रहरी बल, नेपाल प्रहरीका सुरक्षाकर्मी तथा स्थानीयबासीको सहभागितामा बेपत्ता बालिकाको खोजी भइरहेको छ ।
आयोजनाप्रति स्थानीयको आरोप
नारच्याङका बासिन्दा तमबहादुर चोचाङ्गी पुनले भने मिस्त्रीखोला जलविद्युत् आयोजनाको गम्भीर लापरबाहीका कारण यो घटना भएको हो । बिहानसम्म सुक्खा रहेको खोलामा आयोजनाले कुनै पूर्वसूचना नदिई बाँधबाट अचानक पानी छोडेका कारण बालिकाहरू बगेको उनको भनाइ छ ।
यस घटनाका सम्बन्धमा अनुसन्धान भइरहेको प्रहरी निरीक्षक गोतामेले जानकारी दिएका छन् ।







